दशैँ तिहार बिदामा सगरमाथा आधार शिविर जाँदै हुनुहुन्छ ? जानिराख्नुस् यी सात कुरा

काठमाडौँ । नेपालमा हिमाल चढ्ने सिजन स्प्रिङ हो । हिमाली आधार शिविर यात्राको समय भने अटम हो । अटममा नेपालका दुई ठुला पर्व दशैँ र तिहारको बिदाको समय पनि पर्छ ।

सगरमाथा आधार शिविर यात्रामा जानेहरूले अटम रोज्ने गर्छन् । तपाईँ पनि ५३६४ मिटर उचाइको सगरमाथा आधार शिविरमा यही वर्ष वा आगामी वर्षहरूमा जाने सोचाइमा हुनुहुन्छ भने सगरमाथा आधार शिविर यात्राका मुख्य मुख्य कुराबारे जानकारी राख्नु राम्रो हुनेछ ।

१. किन जाने सगरमाथा आधार शिविर ?
लाखौँ रुपैयाँ खर्च हुने सगरमाथा आरोहण सजिलो छैन । महिनौँ समय तयारीमै लाग्छ । सगरमाथा आधार शिविरको यात्रा भने आधा महिनामै सकिन्छ । विदेशीलाई वा स्वदेशीलाई नै पनि सगरमाथा पुगेको छु भन्ने कुरा गर्वका साथ भन्न होस् वा विश्वको सर्वोच्च शिखरको पाउ छुने सपना पूरा गर्न होस्, सगरमाथा आधार शिविर खास यात्रा हो । हिमाली आधार शिविरमै यात्रा गर्ने हो भने सगरमाथाबाटै सुरु गर्दा राम्रो हुन्छ । विश्व सम्पदा सूचीमा परेको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भएकाले यसका अरू महत्त्व पनि छन् । यो यात्राको आनन्दको कुरा त यहाँ लेखेर सकिँदैन । यसका लागि त्यहीँ पुगेर अनुभव गर्नुपर्छ ।

२. आधार शिविर पुग्ने तरिकाहरू के के छन् ?
सगरमाथा आधार शिविर तीन तरिकाले पुग्न सकिन्छ । एक, काठमाडौँ वा रामेछापको मन्थलीबाट सार्वजनिक हवाई यात्राबाट लुक्ला हुँदै जाने । दुई, सोलुखुम्बुको सदरमुकाम सल्लेरी हुँदै स्थल मार्गबाट गाडी र पैदल भएर लुक्ला हुँदै जाने । लुक्ला पुग्नु एक दिनको बाटो खरिखोलासम्म गाडी जाने भएकाले यो सजिलो छ । र तेस्रो चार्टर्ड हेलिकप्टरबाट । चार्टड हेलिकोप्टर केही महँगो भने पर्छ ।

३. यात्रा गर्न कत्ति दिन लाग्छ ?
लुक्ला पुगेपछिका दिन गन्ने हो भने औसत यात्रा १० दिनमा आधार शिविर पुगेर लुक्ला फर्किन सकिन्छ । मौसम खराब हुँदा र हिँड्न धेरै समस्या हुनेलाई भने दिन बढ्न सक्छ । लेक नलाग्ने र हिमाली हिँडाइमा अभ्यस्तहरूलाई झन् थोरै समय लाग्छ ।

४. लुक्लादेखि आधार शिविरसम्म बजार पसल छन् कि छैनन् ? टेन्ट बोक्नुपर्छ कि पर्दैन ?
लुक्लाबाट आधार शिविर पुगुन्जेल विभिन्न ‘टी हाउस’ तथा ‘लज’हरू पाइन्छन् । कतिपय स्थानमा त शहरमा भन्दा राम्रो सुविधा भएका होटल पनि छन् । नाम्चे बजारका होटलदेखि स्याङ्बोचेको होटल एभरेस्ट भ्यू केही उदाहरण हुन् । आवासको सुविधा कालापत्थरको फेदमा रहेको गोरक्षेप बजारसम्मै छ । गोरक्षेपबाट बिस्तारै तेर्सो बाटो हिँड्दा आधार शिविर पुगिन्छ ।

यो हिसाबले सगरमाथाको आधार शिविरभन्दा तीन घण्टा अगाडिसम्म होटल, लज र टी हाउस मज्जाले पाइन्छन् । ‘टेन्ट’को अनुभव पनि लिने भए बोकेर जानु राम्रै हो‚ तर नभई नहुने भने होइन ।

५. लुक्लाबाट आधार शिविरसम्म जाँदा बास बस्ने मुख्य ठाउँहरू कुन कुन हुन् ?
लुक्लाबाट हिँडेपछि फाक्दिङ आउँछ । फाक्दिङबाट नाम्चे बजार अनि तेङ्बोचे, दिङ्बोचे, लोबुचे हुँदै गोरकक्षेत्र आदि बास बस्ने मुख्य स्टेसन हुन् । तर, यी स्टेसनका बिचबिचमा र साइडमा अरू स्टेसनहरू पनि छन् । त्यहाँ पनि बस्न सकिन्छ ।

६. एक्लै जान सकिन्छ ?
सगरमाथा आधार शिविर एक्लै जान पनि सकिन्छ । तर, स्वास्थ्य समस्या आएमा, दुर्घटना भएमा वा अन्य समस्या आएमा भने गाह्रो हुन्छ । टूर र ट्रेक गाइडसम्बन्धी एजेन्सीहरू, आधिकारिक ट्रेक, स्थानीय वा त्यो रुटमा जानकारी भएका साथीसँगको यात्रा सहज र सुरक्षित हुन्छ ।

७. खर्च कति लाग्छ ?
लुक्लादेखि माथि हरेक दिन चार हजार हाराहारी नेपाली रुपैयाँ खर्च गर्दा राम्रोसँग आधार शिविर यात्रा गर्न सकिन्छ । लुक्लासम्म नियमित जहाज खर्च र अन्य यात्राको खर्च जोड्दा समग्रमा एक लाख रुपैयाँले राम्रो हिसाबले नै यात्रा सम्पन्न गर्न सकिन्छ ।

एक लाखभित्र दुर्घटना बिमादेखि आवश्यक ट्रेकिङ सामग्री र पोसाकहरू समेत आउँछन् । ट्रेकिङ एजेन्सीहरूले केही छुटसमेत दिन सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *