एनसेलले दसैँ तिहारमा बोनस ब्यालेन्स र सस्तो डाटा दिने 

काठमाडौँ । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले चाडपर्व लक्षित विभिन्न योजना ल्याएको छ । कम्पनीले  पे एज यू गो (पेजी) डेटा शूल्कलाई घटाई प्रति एमबी रु १ बनाएको छ । अब रु ५० वा सो भन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप ब्यालेन्स वा डेटा पाउन सक्ने भएका छन् ।

यो योजनासँगै एनसेलका ग्राहकले अब सुलभ दरमा कुनै पनि प्याक खरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले ५० प्रतिशत छुटमा कर बाहेक रु १ प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्छन् ।

दसैँ, तिहार र छठको पावन अवसरमा ल्याइएको पेजी अन्तर्गत रु १ प्रति एमबी अफर बुधवार (असोज २०)देखि लागु भएको छ भने रिचार्जमा बोनस योजना शुक्रवार (असोज २३) देखि लागु हुनेछ । यो योजना ९० दिनको लागि मान्य रहनेछ ।

रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस ब्यालेन्स तथा डेटा प्राप्त गर्नेछन् । रु ५० देखि रु ९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ५ देखि १० प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५० एमबी देखि २५० एमबीसम्म एक दिनको समय सीमा रहेको डेटा भोलुम प्राप्त गर्दछन् ।

त्यस्तै गरी रु १०० देखि रु १९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले तीन दिनको समय सीमा रहेको ५ देखि १२ प्रतिशतसम्म बोनस ब्यालेन्स वा १५० एमबी देखि ५०० एमबीसम्मको डेटा भोलुम प्राप्त गर्दछन् । रु २०० वा सो भन्दा बढी रिचार्ज गर्ने ग्राहकले ५ दिनको समयावधि रहेको ५ देखि १५ प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५०० एमबी देखि १५०० एमबीसम्म डेटा भोलुम पाउनेछन् ।

डेटा प्याकमार्फत डेटा प्रयोग सबैभन्दा राम्रो विकल्प भएपनि पेएजयूगो अर्थात् पेजी शुल्कमा छुटले ग्राहकमाझ मेन ब्यालेन्सबाट पनि सुलभ दरमा डेटा सेवा सुनिश्चित गरेको छ ।

चाडपर्वको अफर अन्तर्गत पेजीमा छुट र रिचार्जमा बोनस योजनाले ग्राहकलाई ठूलो महत्त्व राख्ने र उनीहरूलाई आफ्ना परिवारजन, साथीभाइसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

एनसेलले चाडपर्वकै अवसरमा ग्राहकले आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरूले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका सहितको आकर्षक योजना पनि ल्याएको घोषणा गरेको थियो ।

यसका साथै विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्छन् । यो योजना बिहीबारबाट पाँच हप्ता सञ्चालनमा रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *