कोभिडले धकेलियो बन्दीपुर केवलकारको निर्माण, लगानी पनि बढ्यो

पोखरा । तनहुँको बन्दीपुरमा निर्माणाधीन केवलकार बनाउने समय १ वर्ष पर सरेको छ । कोभिडका कारण सामग्री र जनशक्ति नपाएपछि निर्माणको अवधी नै पछि सरेको हो । केही भौतिक पूर्वाधारको काम थपिएकाले लगानीसमेत बढेको छ ।

स्टिमेटभन्दा ६२ करोड बढी लगानी हुने कम्पनीले जनाएको छ । निर्धारित समयमा काम सकिँदा १ अर्ब ७८ करोड रुपैयाँ लागत लाग्ने अनुमान थियो । कोभिडका कारण लगानी बढेर २ अर्ब १० करोड पुगेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

स्वदेशी र प्रवासी नेपालीहरूको संयुक्त लगानीमा केवलकार निर्माण थालिएको हो । हालसम्म ९७ प्रतिशत निर्माण सकिएको कम्पनीले जनाएको छ । १९ गोन्डला भएको केवलकारले प्रति घण्टा ५ सय यात्रु बोक्न सक्ने क्षमता छ । डेढ वर्षपछि आईपीओ निष्काशन गर्न लागिएको समेत शर्माले बताए ।

‘कोभिडले लागत बढ्यो । बनाउने समय पनि पछि सर्‍यो,’ उनले भने, ‘अब एक वर्षभित्र बनाइसक्ने लक्ष्य छ ।’ कम्पनीले ६ अर्ब लागतको महत्वकांक्षी परियोजना अघि सारेको छ । २ लाख जनालाई रोजगारी दिने योजना रहेको शर्माले सुनाए । न्यूनतम ५ लाखदेखि ५० लाखसम्म र आपसी समझदारीमा समेत शेयर लगानी गर्ने गरी १० वर्षमा तेब्बर शेयर धनी बनाउने कम्पनीको दाबी छ । आयोजनामा बन्दीपुर गडी, लेजर लाइट जडान, झरना, म्युजिकल नृत्य र ५ तारे होटल सञ्चालनको परिकल्पना छ ।

केवलकारको लम्बाई ३ हजार ६ सय मिटर लामो छ । हाल कम्पनीमा शेयर सदस्य ८ सय २२ जना रहेका छन् भने गतअसार मसान्तसम्ममा अधिकृत पूँजी १ अर्ब पुगेको छ । परियोजनाअन्तर्गत तल्लो र माथिल्लो दुवै स्टेसन निर्माण करिब अन्तिम चरणमा छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गाउँ बन्दिपुरलाई बिमलनगर र डुम्रेबीचको ठुल्ढुङ्गाबाट केवलकारले जोड्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *