महत्वाकांक्षाले मैल्यायो इच्छाराजको छवि

काठमाडौँ । व्यापारमा व्यापार, धनमा धन र पहुँचमा पहुँच भएका ईन्जिनियर इच्छाराज तामाङले शायदै सोचेका थिए– कुनै दिन प्रहरी हिरासतमा पुग्नु पर्ला भनेर । केही वर्षमै अर्बाैँको जायजेथामात्र होइन‚ केही वर्षमै नाम पनि कमाएका इच्छाराजका सबैजसो इच्छाहरू पूरा भइरहेकै थिए ।

हाउजिङ्ग, बैंक, फाइनान्स, सहकारी हुँदै उनी राजनीतिक पहुँचमा सफल हुँदै गए पनि अति महत्वकांक्षाका कारण उनी अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन् । प्रहरीले उनको कारोबारको हिसाब किताब खोजिरहेको छ । केही वर्षअघिसम्म सफलताका सूत्र सिकाइरहेका उनी व्यवसायमा हिसाब वा लेखा प्रणाली स्पष्ट नहुँदा उठीबास लाग्न सक्छ भन्ने अर्को उदाहरण बनेका छन् ।

इच्छाराजको पारिवारिक पृष्ठभूमि व्यवसायिक वा उद्योगी थिएन । ओखलढुंगा उनको पुर्ख्यौली थलो हो । उनका बुबा ब्रिटिस गोर्खा सैनिकको जागिरे थिए । हङकङमा ९ वर्ष जागिर गरेपछि उनको बुबाको जागिर सिंगापुर सरुवा भयो । उनले त्यहीँको एलन साउथ स्कूलबाट स्कूले शिक्षा पूरा गरे । अंग्रेजी र मलेसियन भाषा सिके । स्कुले शिक्षा पूरा गरेपछि मात्रै उनी नेपाल आए ।

यो पनि : इच्छाराज समूहविरुद्ध उजुरी बढ्दै : हालसम्म १३७ उजुरी, ७० करोड ठगी गरेको दाबी

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ पढे । २०४६ सालतिर सरकारी छात्रवृत्तिमा उनी रुसमा हाइड्रो पावर इन्जिनियरिङ अध्ययनका लागि गए । त्यहाँ अध्ययन गर्ने क्रममा उनले आर्थिक संकटका कारण रुसी मुद्राको चरम अवमूल्यन भएको प्रत्यक्ष अनुभव गर्न र त्यसबाट सिक्ने अवसर पाए । त्यहीबेला खर्च जुटाउन र केही आम्दानीका लागि उनले चिनियाँ सामानको व्यापार सुरु गरे रुसमा ।

त्यहीँबाट उनको व्यावसायिक यात्राको प्रारम्भ भएको थियो ।

इन्जिनियरिङको पढाइ पूरा गरेपछि उनी केही व्यवसायिक अनुभव र केही आम्दानीका साथ नेपाल फर्किए । नेपाल फर्किएपछि उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढाउन र इन्जिनियरिङ कन्सट्यान्टको रुपमा काम थाले । तर, राजनीतिक द्वन्द्व र अस्थिरताका कारण खासै सफलता हात लागेन ।

उनका साथीहरूले पनि उस्तै समस्याको सामना गरिरहेका थिए । त्यसताका नेपालमा सहकारी खोल्ने लहर चल्न थालेको थियो । सहकारीतामा देखिएको आकर्षणलाई पच्छ्याउँदै इच्छाराजले पुल्चोकमा पढाउँदा र पढ्दाका १२ जना इन्जिनियर साथीको समूह बनाए । अनि ‘सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड’ खोले । यसरी २०५७ सालदेखि साथीहरूको सहयोगमा इच्छाराजले सहकारी चलाउन थाले । इन्जिनियर त्यो पनि रुसमा पढेर आएका, पुल्चोक क्याम्पस पढाउने उनको राम्रो छविका साथमा इन्जिनियरको समूह सामेल यो सहकारीले नागरिकको विश्वास जित्न पुग्यो । सहकारीमा २ हजार १ सय ९० बचतकर्ता जोडिए ।

अन्य सहकारीले भन्दा बढी ब्याज दिन थालेपछि सिभिल सहकारीमा निक्षेप राख्ने निक्षेपकर्ताको ताँती लाग्न थाल्यो । यही कारण सहकारीले निक्षेपकर्ताबाट साढे ७ अर्ब रुपैयाँभन्दा बढी निक्षेप सङ्कलन गर्न सक्यो । सहकारीले आफ्ना सेयर सदस्यलाई पुँजीको १० प्रतिशतसम्म मात्रै ऋण लगानी गर्न पाउने व्यवस्थाविपरीत इच्छाराज सञ्चालक रहेका नौवटा कम्पनीलाई मात्रै सहकारीले ८ अर्ब रुपैयाँभन्दा बढी ऋण लगानी गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । सहकारीले आफ्ना सदस्यलाई कानूनले तोकेको उक्त सीमा भन्दा २ सय गुणसम्म बढी लगानी गरेको पाइएको छ ।

सहकारीको ओरालो यात्राको मुख्य कारण नै यही बन्न पुग्यो ।

सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ को व्यवस्थाविपरीत सिभिल सहकारीले आफैँले सञ्चालन गरेको सहकारीबाट आफैँले सञ्चालन गरेका कम्पनीका विभिन्न परियोजनामा लगानी गर्ने, आफ्नै सहकारीबाट आफ्ना कम्पनीहरूमा गरिएको ऋण लगानी फिर्ता नगर्ने, लगानीबाट प्राप्त लाभको सदुपयोग नगर्नेजस्ता चरम लापरवाही र गैरकानूनी क्रियाकलापका कारण सिभिल सहकारी समस्यामा पर्दै गयो ।

घरजग्गा कारोबार उत्कर्षमा पुग्दै गर्दा राष्ट्र बैंकले समय घरजग्गा व्यवसायमा गरिने लगानीमा कडाइ गर्न थालेपछि इच्छाराजको सिभिल समूह थप संकटमा पर्‍यो । आफ्नै लापरवाही, सरकारी नियमलगायतका कारण उनको व्यवसायले ओरालो यात्रा पक्रन थाल्यो । यसरी सिभिल सहकारीले विगत २ वर्षदेखि निक्षेपकर्ताको साँवा र ब्याज भुक्तानी गर्न सकेको छैन । ३ वर्षदेखि साधारणसभा पनि भएको छैन ।

उजुरीका आधारमा दुई वर्षअघिदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराजको सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान गर्दै आइरहेको छ । पछिल्लो पटक सिभिल सहकारीबाट गठिएका ७० जनाले सीआईबीमा उजुरी गरेपछि भने उनीसहित १२ जनाको समूह पक्राउ परेको हो ।

पक्राउ पर्नेमा सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट म्यानेजर मायानानी महर्जन, एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिस्टेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभकेतन ढुंगाना, पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने र सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह छन् ।

नीति, नियम, ऐन कानुनबमोजिम व्यवसायमा लगानी गरिएको भए प्रतिफल पनि त्यसैअनुसार आउँथ्यो । तर, कानून मिचेर र छलेर राजनीतिक ओज र प्रभावका आधारमा गरिएको लगानीले बिस्तारै समूहका अध्यक्ष इच्छाराजको प्रमुख लगानी रहेका कम्पनीहरु समस्यामा पर्दै गए ।

इच्छाराजले सञ्चालन गरेका सिभिल होम्स, सिभिल स्टेट, सिभिल अपार्टमेन्ट सुन्धाराको सीटीसी मल, सभिल मल जस्ता नौवटा कम्पनी र विभिन्न परियोजना सहकारीको पैसा लगानी भएको छ । तर, २०७२ को भूकम्पले चर्किएको सीटीसी मलले सोचेजस्तो व्यापार गर्न सकेन ।

सीटिसी मलकै पछाडि उनले निर्माण गरेको सिभिल अपार्टमेन्टले समेत सोचेजस्तो आम्दानी गर्न नसकेपछि उनले उक्त अपार्टमेन्ट नै बिक्री गरे ।

इच्छाराजका घरजग्गा व्यवसाय गर्ने कम्पनीहरूले घरजग्गा बिक्रीबापत ठूलो रकम कमाएका छन् । अर्थात् संकलन गरेका छन् । तर, आफ्ना ती व्यवसाय र सम्पत्ति बिक्रीबाट आर्जन गरेको रकम समेत तामाङले कहाँ लगानी गरेका छन् भन्ने पारदर्शी गरेका छैनन् । यसरी उनले ग्रुपभित्रै आफूले सञ्चालन गरेका कम्पनी र ती कम्पनीले कमाएका सम्पत्ति समेत लुकाएको आशंकाका आधारमा सीआईबी र सम्पत्ती शुद्धीकरण विभागले अनुसन्धान गरिरहेका छन् ।

राष्ट्र बैंकले सहकारीले लगानी गरेका कर्जा असुलीका लागि निर्देशन दिएको भए पनि तामाङकै सिभिल होम्सलगायतले सहकारीको पैसा फिर्ता गरेको छैन । कर्जाको अवधि बढ्दै जाँदा ब्याजका कारण उक्त ऋण चार गुणासम्म बढेको छ । आफूसँग रहेको चलअचल सम्पत्ति बिक्री गरेर सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रयाससमेत उनले गरेनन् । सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेदेखि भने उनको सम्पत्ती रोक्का राखिएको छ ।

सिभिल होम्स, सिभिल स्टेट, सिभिल अपार्टमेन्ट, सिभिल ट्रेडिङ कम्पनीलगायत नौवटा कम्पनीमा सहकारीले गरेको लगानी फिर्ता हुन सकेको छैन । सहकारीले बचतकर्ताको रकम फिर्ता गर्दा पनि आफू निकटकालाई फिर्ता गरेको पाइएको छ । यसरी २०७६ को सुरुदेखि नै सहकारीमा तरलता अभाव भएपछि सहकारी सञ्चालन हुनै नसक्ने अवस्थामा पुगेको थियो । बचतकर्ताले बचत तथा ब्याज फिर्ता नपाउन थालेपछि ७० जना लगानीकर्ताले सीआईबीमा उजुरी हालेपछि सिभिल ग्रुपको सारा कुरा बाहिर आएको थियो ।

सुन्धारामा रहेको केन्द्रीय कारागरारकै छेउमा अग्लो सीटीसी मल बनाउँदा कारागारको सुरक्षा संवेदनशीलतालाई नै जोखिममा पारेको भन्दै उनको आलोचना भएको थियो । तर, इच्छाराज भन्थे– ‘बानेश्वर हाइटबाट पश्चिम फर्केर हेर्दा देखिने सानदार भवन सीटीसी मल हुनेछ । यो नेपालकै शान हो, इच्छाराज गौण ।’ तर उनले सोचेजस्तो भएन । भूकम्पले चर्काएको उक्त अग्लो भवनका व्यवासायिक स्पेसहरू व्यवसायीले रुचाइदिएनन् ।

सिभिल ग्रुपले राम्रो मुनाफा आर्जन गरी चलाइरहेको अर्को क्षेत्र बैंकिङ हो । तर अध्यक्ष नै ठगी मुद्दामा पक्राउ परेपछि सिभिल बैंकमा उनको नाममा रहेको सेयर बिक्रीको चर्चा चलिरहेको छ ।

उनले श्रीमतिको नाममा रहेको शेयर बेचेको चर्चा पनि भइरहेको छ । अहिले उनको अध्यक्ष पद नै धरमराएको छ ।

उनले धेरै ठाउँमा सिभिल होम्स सञ्चालन गरे र सयौँ जनालाई घर बेचे । भलै सिभिल होम्सप्रति ग्राहकहरू असन्तुष्ट रहेका खबरहरू बेलाबेला सार्वजनिक भइरहन्थे । कबोल गरेभन्दा धेरै पैसा लिएको, अनावश्यक कर र शुल्क उठाएको, हाउजिङभित्रका खाली जग्गा स्विमिङ पुल लगायत आफ्नै स्वामित्वमा राखेको जस्ता आलोचनाहरु भइरहे तर उनी कारबाहीमा कहिल्यै परेनन् । राजनीतिक पहुँचका कारण पनि कसैले उनलाई छुने हिम्मत गरेन ।

उनी नेकपा एमालेका तर्फबाट सभासद् पनि बने । अहिले पनि उनको एमालेमा राम्रो पहुँच र प्रभाव रहेको मानिन्छ । राजनीतिक आडले केही समय आफ्ना गल्तिहरू लुकाउन सकेपनि त्यो सधैँ सम्भव हुने थिएन । र भयो पनि त्यस्तै । उनलाई नजिकबाट चिनेजानेकाहरू भन्छन्– अति महत्वकांक्षा नभएको भए र कानूनलाई छल्न नखोजेको भए इच्छाराज र उनको व्यापारिक परिचयमा यस्तो कालो धब्बा लाग्ने थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *