प्रदेश १ मा तयार भयाे २२० केभी क्षमताकाे विद्युत् प्रसारण लाइन
एक नम्बर प्रदेशमा विद्युत प्रवाहको मेरुदण्ड तयार

काठमाडौँ । कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सकिएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्म २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्र तार तान्ने सकिएको हो । नेपाल विद्युत् प्राधिकरण र भारतीय एक्जिम बैंकद्वारा धनकुटाको हिलेमा सोमबार संयुक्त कार्यक्रम आयोजना गरी पहिलो प्याकेज अन्तर्गतको प्रसारण लाइन निर्माण सकिएको घोषणा गरिएको हो ।
अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकमार्फत दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।
कोसी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ । साथै एक नम्बर प्रदेशका जिल्लाहरुमा विद्युत् विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्ने छ ।
कार्यक्रममा एक्जिम बैंकका प्रतिनिधि विश्वजित गर्गले प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज निर्माण सकिएकोले उक्त आयोजना खण्डको साँचो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरे । कार्यक्रममा धनकुटा नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपालस्थित भारतीय दूतावासकी उपप्रमुख नामग्या सी खाम्पालगायतको उपस्थिती थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश १ मा विद्युत् प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए । कोसी करिडोर र कावेली करिडोर प्रसारण लाइनलाई लिङ्क गर्न लागिएको जानकारी दिँदै उनले आयोजनाअन्तर्गतका सबस्टेसनहरुको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने बताए ।
ऊर्जा मन्त्रालयका सहसचिव भेटुवालले प्रसारण लाइनको निर्माणबाट अरुण र तमोर जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत ग्राहककोसम्म पुर्याउन पूर्वाधार तयार भएको बताए । प्रसारण लाइन निर्माणपछि यस क्षेत्रका खोलानालामा जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको लगानीलाई थप सुनिश्चित बनाएको बताए ।
नेपाल र भारतबीचको सहकार्यका लागि ऊर्जा प्रमुख क्षेत्र रहेको बताउँदै भारतीय दूतावासकी उपप्रमुख खाम्पाले भारतले जारी गरेको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाका बमोजिम नेपालले भारतबाट विद्युत् खरिद गर्न मात्र नभएर बिक्री गर्न समेत पाउने बताए ।
धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले इच्छाशक्ति भएमा ठूला आयोजना पनि समयमै सम्पन्न हुन्छ भन्ने कोसी करिडोरको निर्माणबाट पुष्टि भएको बताए । उनले अब प्राधिकरणले जनतालाई विद्युत् आपूर्तिको सुनिश्चित गर्नतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिए ।
प्रधिकरणले कोसी कोरिडोरमा नीजि तथा सरकारी तवरमा निर्माण हुने जलविद्युत आयोजनाहरुको वर्तमान कार्य प्रगति तथा भावी योजनाका आधारमा उत्पादन हुने विद्युत् प्रसारणका लागि सो लाइनको दोस्रो सर्किटको तार तान्ने काम र सम्बन्धित सबस्टेशनहरुमा २२० केभी लाइन बे तथा पावर ट्रान्सफरमरहरुको क्षमता विस्तार गर्ने योजना बनाएको छ ।
आयोजनाको दोस्रो सर्किट तार तान्ने र सम्बन्धित सबस्टेशनहरुको क्षमता विस्तार गर्न आवश्यक अनुमानित लागत ४० मिलियन अमेरिकी डलर नेपाल सरकार मार्फत् नेपाल विद्युत प्राधिकरणलाई लगानी जुलाईदिने सम्बन्धमा भारतीय एक्जिम बैंकलाई पत्राचार गरिसकेको छ ।
विश्वव्यापी कोरोना महामारी नियन्त्रणका लागि भएका लकडाउन तथा निषेधाज्ञाले आयोजना प्रभावित भएको थियो । यस प्रसारण लाइनमा जडान हुने विभिन्न उपकरण र प्राविधिक कोरोना महामारीको कारणले पूर्व निर्धारित समयमा नै आयोजना स्थलसम्म आइनपुग्दा निर्माण प्रभावित भएको हो ।
प्रसारण आयोजना तीन वटा प्याकेजमा विभाजन गरी निर्माण गरिएको छ । पहिलो प्याकेजमा इनरुवा–तुम्लिङटार प्रसारण लाइन, दोस्रो प्याकेजमा तीन वटा सबस्टेसन र तेस्रो प्याकेजमा तेह्रथुमको वसन्तपुरको ताप्लेजुङको ढुंगेसाँघुसम्म प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गर्ने रहेको छ ।
अरुण र तमोर नदी र तिनीहरुका सहायक नदीबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आवद्ध गर्न निर्माणधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो । एक नम्बर प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । प्याकेज १ को निर्माण भएको छ भने २ र ३ को क्रमश: ८० र ७० प्रतिशत निर्माण सकिएको छ ।
प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् । आयोजनाको दोस्रो प्याकेज अन्तर्गतका संखुभासभाको बानेश्वर तथा तुम्लिङटार र वसन्तपुरमा २२०/१३२/३३ केभीका तीन वटा सबस्टेसनहरु र इनरुवा सबस्टेसनमा ‘बे एक्सटेन्सन’ को काम अन्तिम चरणमा छन् । आयोजनाको सम्पूर्ण काम मार्च २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ ।
इनरुवामा अहिले २२० केभीको सबस्टेसन निर्माणाधीन छ । उक्त सबस्टेसन निर्माण पूरा नहुन्जेलसम्मका लागि इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई
अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । संखुवासभाको किटिङ्गीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमी प्रसारण लाइन २ भदौ २०७८ मा ३३ केभीमा चार्च गरिएको हो ।
प्याकेज २ अन्तर्गत सबस्टेसनको निर्माण र नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माणाधीन २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन सम्पन्न गरी इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङ्गटार प्रसारण लाइनलाई डिसेम्बर, २०२१ सम्ममा २२० केभीमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
हाल ३३ केभीमा चार्च गरिएको प्रसारण लाइनमार्फत भोजपुर, सङ्खुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गरिएको छ । यसबाट बर्खामा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको छ ।
तिरतिरे–बसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरु बर्खामा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाहरुको जडित क्षमता करिब ३३ मेगावाट छ । संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइएको छ ।
करिडोरको पहिलो प्याकेजको इनरुवा–बसन्तपुर–वानेश्वर–तुम्लिङटार २२० केभी प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिसन लिमिटेडले २५ फेब्रुअरी २०१६ मा ठेक्का पाएको थियो । ठेक्का सम्झौता १४ जुन २०१६ मा कार्यान्वयमा आएको थियो । पहिलो प्याकेजको अनुमानित लागत करिब ४ अर्ब रुपैयाँ रहेको छ ।
दोस्रो प्याकेजअन्तर्गत इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङटारमा २२०/१३२/३३ केभीको सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग ११ जुलाई २०१८ मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसको निर्माण मार्च २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । यो प्याकेजको अनुमानित लागत करिब २ अर्ब ९१ करोड रुपैयाँ छ ।
तेस्रो प्याकेजमा वसन्तपुर–ढुङ्गेसाँघु ३५ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । १ सय ३२ वटा टावर निर्माण गर्नुपर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिने प्राधिकरणले जाएको छ ।









