सेबोन अध्यक्ष ढुंगाना भन्छन्– अन्यायमा परेँ, न्याय माग्न अदालत जान्छु

काठमाडौँ । पदबाट बर्खास्तमा परेका नेपाल धितोपत्र बोर्ड (सेबाेन) का अध्यक्ष भिष्मराज ढुंगानाले आफू अन्यायमा परेको बताएको बताएका छन् ।

सरकारले खाफूलाई बर्खास्त गरेको जानकारी आफूले सञ्चार माध्यमहरुमार्फत थाहा पाएको र बर्खास्ती पत्र हातमा नपरेकाे मकालु खबरसँग उनले बताए ।

‘बर्खास्त गरिएको पत्र मैले पाएको छैन,’ उनले भने, ‘पत्र नपाउँदासम्म के गरिएको हो भन्न सक्ने अवस्था भएन तर बर्खास्त गरिएकै हो भने ममाथि अन्याय भएको छ ।’

पत्र हातमा परेपछि आफूमाथि अन्याय भएको हो भने आफू न्याय माग्न अदालत जाने उनले बताए ।

‘ममाथि अन्याय नै गरिएको रहेछ भने न्याय माग्न अदालत जानुको विकल्प रहँदैन,’ उनले भने । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई धितोपत्र बोर्डको अध्यक्ष पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण गरी आईपीओ जारी गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयरमा इन्साइडर ट्रेडिङ गरेको विषयमा उनी विवादित भएपछि सरकारले उनलाई पदबाट बर्खास्त गरेको जनाएको छ ।

उक्त कम्पनीको सेयर अध्यक्ष ढुंगानाकी अमेरिकामा रहेकी छोरीको नाममा १० हजार कित्ता सेयर खरिद भएको पाइएको थियो । बुक विल्डिङ विधिबाट उक्त कम्पनीको आईपीओ जारी गर्दा प्रतिकित्ता सेयर मूल्य ७ सय देखि ७ सय ५० रुपैयाँसम्म पर्ने सक्ने कम्पनीले जनाउँदै आएको थियो । तर, सेबोनका अध्यक्ष ढुंगाना, नेप्सेका प्रमुखलगायत नियामक निकायकै पदाधिकारी उक्त कम्पनीको सेयर इन्साइडर ट्रेडिङ गर्न थालेको पाइएपछि विवाद सुरु भएको थियो । आईपीओ जारी हुनुअघि प्रतिकिक्ता २ सय ५० रुपैयाँ सम्ममै उक्त कम्पनीको सेयर खरिद बिक्री भएको पाइएको थियो ।

सेबोन अध्यक्ष ढुंगानाले भने आफ्नी विवाहित छोरी एकाघरकी परिवारको सदस्य नहुने र उक्त सेयर खरिदको विषय आफूलाई जानकारी नै नरहे पनि विवादित बनाइएको बताएका छन् । विवादमा परेपछि उनले पदबाट राजीनामा नदिने र सरकारले बर्खास्त गरे अदालत जाने बताउँदै आएका थिए ।

‘विवाह गरेर पठाएको छोरीले किनेको सेयरको विषयमा मलाई कुनै जानकारी नै छैन,’ उनले भने, ‘यसलाई विवादित बनाइयो ।’

उक्त कम्पनीको सोही प्रकृतिको सेयर श्रीमतिको नाममा खरिद भएको पाइएपछि पुँजीबजारको फ्रन्टलाइनर रेगुलेटर (नियामक) नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले यसअघि नै पदबाट राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =