एनआरएनए चुनाव : बद्री केसी टिमद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष बद्री केसीको टिमले उम्मेदवारी घोषणा गरेको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर केसीको टिमले संघको १०औँ विश्व सम्मेलनका लागि उम्मेदवारी घोषणा गरेको हो ।

एनआरएनए अध्यक्षका प्रत्यासी केसीले उम्मेदवारी घोषणा गर्दै विभिन्न प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । केसीले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकार, कूटनीतिक नियोगलगायतसँग सहकार्य गर्ने बताएका छन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा जाने नेपालीहरूको न्यूनतम तलब अन्तरराष्ट्रिय मापदण्डअनुसार निर्धारण गरिने, श्रम स्वीकृति नवीकरण, बीमा नवीकरण तथा श्रमसम्बन्धी अन्य समस्याका लागि नेपाल धाउनुपर्ने बाध्यकारी व्यवस्थालाई अन्त्य गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारा दिएका केसीले उपाध्यक्षमा हेमराज शर्मा (यूके), डिबी क्षेत्री (ओमान), धर्मराज अधिकारी (अष्ट्रेलिया), यासमिन बेगम शैयद (साउदी अरेबिया) लाई उम्मेदवार बनाएका छन् ।

त्यस्तै महासचिवमा गौरीराज जोशी (अमेरिका), सचिवमा रामशरण सिमखडा (युके), ओम गुरुङ (जापान), चिरञ्जीवी घिमिरे (क्यानडा) र महिला सहकोषाध्यक्ष यमुना भट्टराई (अमेरिका) ले उम्मेदवारी घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

विवादित कार्यकाल र घोटालामा मुछिएका केसी
कोरोना महामारीको बेला समस्यामा परेका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको सहयोगार्थ एनआरएनएलाई अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) ले करिव दश करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा एनआरएनएले वैदेशिक रोजगारीमा रहेर समस्यामा परेका नेपाली कामदारको सहयोगका लागि समिति गठन गरेको थियो । तर, युएईलगायतका मुलुकमा व्यापक भ्रष्टाचार गरिएको र ती भ्रष्टाचारमा केसीले संरक्षण दिएको आरोप लागेको छ ।

युएईको भ्रष्टाचार छानबिन गर्न गठित समितिले अनुसन्धान प्रक्रिया र निष्कर्षसहित १६ पृष्ठको लिखित प्रतिवेदन बुझाएको थियो । त्यसपछि एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पालाई निलम्बन गरेको थियो ।

कोइराला र शेर्पाले परियोजनामार्फत् प्राप्त रकम काठमाडौँस्थित एक बैंकमा खाता खोली जम्मा गरेका थिए । छानबिन समितिले प्रतिवेदनमा के उल्लेख छ भन्ने नखुलाए पनि प्रतिवेदन कोषाध्यक्षलाई हस्तान्तरण गरेको जानकारी दिएको छ ।

राजु केसी संयोजकत्वमा गठित छानबिन समितिमा भुवानीप्रसाद तिमिल्सिना, बाबुराम विश्वकर्मा, महेश गिरी, लक्ष्मण खनाल र महेश मोक्तान सदस्य रहेका थिए ।

तर, उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा, सचिव गौरी जोशीसहित केन्द्रीय समितिले नै भ्रष्टाचार प्रकरणमा जिम्मेवारहरूलाई नै जोगाउन खोजेको एनआरएनए अभियन्ताहरूले बताएका छन् ।

त्यसैगरी, उपाध्यक्ष केसीले एनआरएनएको केन्द्रीय कार्यालयमार्फत् गैरआवासीय नेपाली संघ जापानको निर्वाचनमा धाँधली गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । एमआईएस सिस्टमको दुरुपयोग गरी आफूनिकट उम्मेदवार जिताएका केसी र महासचिव शर्माविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

काठमाडौँको फर्पिङमा जन्मिएका केसीले सन् २००१ मा मस्को विश्वविद्यालयबाट टेक्नोलोजीमा पिएचडी गरेका छन् । उनले रसिया र नेपालका विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + one =