बिजुली आयात शून्य, बिहारमा ५० मेगावाटसम्म बेच्दै प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत्मा पूर्ण आत्मनिर्भर भएको छ । यसअघि आवश्यकताका आधारमा ११ भन्दा बढी अन्तरदेशीय प्रसारण विन्दुमार्फत् भारतबाट विद्युत् आयात गर्दै आएको नेपालले अहिले आयात गर्न छोडेको छ ।

अहिले आयात शून्य र उपलब्धताका आधारमा निर्यात हुँदै आएको नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले मकालु खबरलाई बताए । वर्षायाममा ३ सय मेगावाटसम्म र हिउँदमा ६ सय ५० मेगावाटसम्म विद्युत् नेपालले भारतबाट आयात गर्दै आएको थियो ।

खास गरी ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालमा आएपछि क्रमशः भारतबाट हुने आयात शून्य भएको केन्द्रप्रमुख भट्टराईले बताए ।

‘अहिले आयात मात्रै शून्य भएको होइन, बेलाबेला निर्यात पनि गरिरहेका छौँ,’ उनले भने, ‘दिउँसो पनि करिब ५० मेगावाटसम्म भारतमा निर्यात गर्न थालेका छौँ ।’
उनका अनुसार नेपालको प्रणालीमा विद्युत् बढी भएको बेला ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनको ‘डेभिएशन सेटलमेन्ट मेकानिजम’ (डीएसएम) मार्फत् प्राधिकरणले विद्युत् निर्यात गर्ने गरेको छ । तर, भारतको प्रणालीमा विद्युत् कम भएको बेला (फ्रिक्वेन्सी कम देखाएको बेला) र नेपालको प्रणालीमा बढी भएको बेला मात्रै निर्यात गर्न सकिन्छ ।

‘बिहारको वितरण प्रणालीमा फ्रिक्वेन्सी कम भएको बेला बिजुली पठायौँ भने पैसा पाउँछौँ तर बिहारको प्रणालीमा फ्रिक्वेन्सी बढी भएको बेला पठायौँ भने उल्टो जरिवाना तिर्नुपर्छ ।’

विद्युत् वितरण प्रणालीमा फ्रिक्वेन्सी कम देखाउनुको अर्थ प्रणालीमा उपलब्धताको तुलनामा माग बढी भएको बुझिन्छ । र, फ्रिक्वेन्सी बढी हुँदा विद्युत्को उपलब्धता बढी भएको बुझिने उनले बताए ।

‘सोमबार पनि बिहारले हामीसँग ३ ओटा नाकाबाट विद्युत् मागेको छ,’ उनले भने, ‘बिहारले कहिले १ दिन पहिले, कहिले २÷४ घण्टा पहिले विद्युत् माग्ने र कहिले नमाग्ने गरेको छ । उसले मागेको बेला हाम्रो प्रणालीमा विद्युत् बढी हुँदा हामीले पढाउने गरेका छौँ ।’

प्राधिकरणले भारतको केन्द्र सरकारअन्तर्गतको विद्युत् प्राधिकरण र अन्य विद्युत् सेवा प्रदायकलाई समेत विद्युत् निर्यातका लागि पहल गरिरहेको उनले बताए ।
खास गरी माथिल्लो तामाकोसीसहित केही साना आयोजनाहरुले समेत उत्पादन सुरु गर्दा नेपालमा विद्युत्को उत्पादन बढेको हो । त्यस्तै, नदी प्रवाही आयोजना बढी भएको र अहिले वर्षायाम भएकोले नदीमा पानीको बहाब बढ्दा धेरैजसो आयोजनाहरुले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेका छन् । यसले गर्दा पनि विद्युत्को उपलब्धता बढी भएको हो ।

तर, हिउँद अर्थात् सुख्खा मौसममा भने नदीमा पानीको बहाब कम हुने हुँदा नदी प्रवाही आयोजनाहरुको उत्पदन एक तिहाईसम्म घट्छ । त्यसो हुँदा नेपाललाई हिउँदमा अझै पनि भारतबाट विद्युत् ल्याउनु पर्ने बाध्यता रहन सक्छ । यद्यपी, निर्माणाधिन आयोजनाहरु निर्माण सम्पन्न हुँदै प्रणालीमा उत्पादन थपिँदा केही समयभित्रै नेपाल हिउँदामा पनि विद्युत्मा आत्मनिर्भर बन्न सक्नेमा प्राधिकरण विश्वस्त देखिन्छ ।

हाल नेपालको विद्युत् प्रणालीमा प्राधिकरणका आयोजनाहरुले ३ सय ९५ मेगावाट (९४७६ गिगावाट आवर इनर्जी) उत्पादन गरिरहेका छन् । त्यस्तै, प्राधिकरणका सहायक आयोजनाहरुले २ सय ७२ मेगावाट (६५४३ गिगावाट आवर इनर्जी) उत्पादन गरिरहेको छ । त्यस्तै, निजी ऊर्जा उत्पादकहरुका चालू आयोजनाले ५ सय ३६ दशमलव ५ मेगावाट विद्युत् उत्पादन गरिरहेका छन् ।

सामान्यतया नेपालको विद्युत् माग हाल १ हजार २ सय मेगावाटको हाराराहारीमा छ । तर, उच्च माग (पिक डिमान्ड) भने १ हजार ६ सय ८५ मेगावाट पुगिसकेको केन्द्रका प्रमुख भट्टराईले जानकारी दिए ।

सबै किसिमका आयोजना गरी हाल नेपालको कुल जडित विद्युत् उतपादन क्षमता करिब २ हजार मेगावाट पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *