भरतपुर अस्पतालमा बिहान ८:३० बजेबाट बहिरङ्ग सेवा

चितवन । भरतपुर अस्पतालमा बिरामीको चाप बढेसँगै अस्पतालले बहिरङ्ग सेवाको समय बढाएको छ । अस्पतालले आजैदेखि सेवा समय बढाएको हो ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बिहान ८ बजेदेखि टिकट खुल्ला हुनेछ भने ८:३० बजेबाट परीक्षण सुरु गरिनेछ । बिरामीले टिकट काटिसकेपछि लामो समयसम्म कुर्न नपरोस् भनेर तीन छुुट्टाछुट्टै कक्षबाट यो सेवा सुरु गरिएको छ । यसअघि सञ्चालित बहिरङ्ग सेवा बिहान ९ बजेबाट नियमित नै सञ्चालन गरिने र यो सेवा सुरु गरेसँगै अस्पतालमा लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य हुने उनको भनाइ थियो।

यो सेवामा मेडिकल जनरलिष्ट र मेडिकल अफिसरले बिरामीको परीक्षण गर्नेछन् । आवश्यकताअनुसार थप परीक्षण गर्नुपर्ने भए विशेषज्ञकहाँ पठाउने व्यवस्था गरिएको मेडिकल सुपरिटेन्डेन्ट पौडेलले जानकारी दिए । टिकट काट्न र ओपिडीमा परीक्षण गर्न लामो समय पर्खनुपर्ने गुनासो आएकाले अस्पतालले सेवा विस्तार गरेको हो ।

अस्पतालले छिट्टै अनलाइनबाट बहिरङ्ग सेवाको टिकट काट्ने व्यवस्था गर्ने जनाइएको छ । कोरोनाको सङ्क्रमण घटेसँगै अन्य बिरामीको चाप बढ्दै गएको छ । सरकारी यस अस्पतालमा चितवनसहित छिमेकी १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । प्रसुति सेवाका लागि काठमाडौँको प्रसुतिगृहपछि सबैभन्दा धेरै प्रसुति सेवा दिनेमा यही अस्पताल पर्दछ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *