जनकपुर बम काण्ड : पूर्व मन्त्री साहको जन्मकैद ७ वर्षमा झर्‍यो

जनकपुरधाम । जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोट काण्डमा पूर्वमन्त्री सञ्जय साह ‘टकला’लाई राहत मिलेको छ । ९ वर्ष अगाडिको बम काण्डमा साहलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर आइतबार अबेर राति उच्च अदालत जनकपुरले फैसला पुनरावलोकन गरेको छ । उच्च अदालतले जन्मकैदको सजाय घटाएर ७ वर्षमा झारेको छ ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीरबहादुर चन्दको संयुक्त इजलासले यो फैसला गरेको हो । फैसलामा साहलाई ज्यान मार्ने मुद्दामा ७ वर्ष कैद र षड्यन्त्र रचेको ठहर गरिएको छ । जिल्ला अदालतले साहलाई मुख्य अभियुक्त ठहर गरेको थियो ।

साह हाल काठमाडौंको नख्खु कारागारमा छन् । उनी धनुषा क्षेत्र ३ बाट संविधानसभाको दुवै निर्वाचनमा विजयी भएका थिए । पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका उनलाई सांसद रहेकै बेला दिल्लीबाट पक्राउ गरी ल्याइएको थियो ।

२०६९ वैशाख १८ मा मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा बसेको धर्नालाई लक्षित गरी बम विस्फोट गराउँदा मैथिली नाट्य क्षेत्रकी लोकप्रिय कलाकार रञ्जु झासहित ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *