बङ्गलादेशसँग नेपालको व्यापार घाटा कम गर्नुपर्नेमा जोड

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।

भौगोलिक दूरीका हिसाबले जम्मा २७ किलोमिटर टाढा रहेको दुई मुलुकको व्यापरिक सम्बन्ध आशातित रुपमा बलियो हुन नसकेको विषयमा छलफल गर्दै आगामी दिनमा यसलाई सुदृढ बनाउन दुबै पक्ष प्रतिबद्ध रहेको उक्त अवसरमा बताइएको छ ।

नेपालको कुल व्यापारमा दक्षिण एशियामा बङ्गलादेश दोस्रो ठुलो व्यापार साझेदार रहेको तथ्याङ्कले देखाउँछ । तर पनि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार पछिल्लो आर्थिक वर्षमा नेपालले जम्मा ५.७ मिलियन डलर बराबर निर्यात र बङ्गलादेशबाट ९०.६ मिलियन डलर बराबरको आयात गरेको थियो । यसरी हेर्दा दुबै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ ।

नेपालले हाल मुसुरो दाल, खाद्य प्रिपरेशन, गहुँको चोकर, रङ्गरोगनका सामग्री, वनस्पति तथा वनस्पतिजन्य वस्तुहरु लगायतका सामग्रीहरु निर्यात गर्दै आएको छ भने जुट, औषधि, विद्धुतीय सामानहरु आयात गर्दछ । २०७८ असारसम्म नेपालमा कृषि तथा वनमा आधारित,  ऊर्जा, आईटी, उत्पादनमुलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी ७४ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन् । व्यापार घाटा कम गर्न तथा आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न उर्जा, पर्यटन जस्ता क्षेत्रहरूमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा छललफलमा जोड दिइएको छ ।

राजदूत सलाहुद्दिन नोमन चौधरीलाई महासंघका अध्यक्ष गोल्छाले बङ्गलादेश कम विकसित मुलुकबाट स्तरोन्नतिको प्रक्रियामा रहेकोले सो सम्बन्धी अनुभव नेपालको लागि उपयोगी हुुने बताए । बंगलादेशले छोटो समयमा गरेको आर्थिक विकासको अध्ययन गर्न नेपाली व्यवसायीहरुको टोली स्थलमार्गबाटै भ्रमण गर्ने योजना रहेको बताउँदै अध्यक्ष गोल्छाले बङ्गलादेशसँग आर्थिक सम्बन्ध मजबुद बनाउन नेपाली निजी क्षेत्र लालायित रहेकाले आर्थिक कुटनीतिमार्फत सहयोग गर्न आग्रह गरे । साथै उनले व्यापार घाटा कम गर्न नेपालबाट उर्जा निर्यात बलियो स्रोत हुने बताए ।

भेटमा राजदूतले द्वीपक्षीय व्यापार बढ्न नसकेकोले यसलाई गम्भीरतापूर्वक लिई सम्भावनाका पाटाहरु खोज्नुपर्ने बताए । उनले द्वीपक्षीय लगानी सम्झौता हुनुपर्नेमा जोड दिए । स्थलमार्गका साथसाथै हवाई मार्गबाट पनि नेपालको विराटनगर विमानस्थल र बङ्गलादेशको विमानस्थल बीच सिधा हवाइसेवा सञ्चालन गर्न सकिने सम्भावना रहेको बताए ।

उनले आफ्नोतर्फबाट आपसी आर्थिक सम्बन्ध विस्तारका हरेक प्रयास र दुवै देशका निजी क्षेत्रबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सहयोग सँधै रहने बताए ।

भेटवार्तामा महासंघका उपाध्यक्षहरु अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई तथा कार्यकारिणी समिति सदस्य एवं व्यापार समिति सभापति विजयसिंह वैधको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fifteen =