मोरङमा इन्टरनेट र केबल टिभीको तार काटियो 

विराटनगर  । नेपाल विद्युत् प्राधिकरणले विराटनगर ग्राहक सेवा केन्द्रले बिजुलीको खम्बा प्रयोग गरे बापतको भाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवा प्रदायक कम्पनीको तार काटिदिएको छ । प्राधिकरणले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा इन्टरनेट र केबल टिभीको केबल काटिदिएको हो ।

विराटनगर ३ पुष्पलाल चोक, बुढीगंगा गाउँपालिका वडा नम्बर १ र २ र ग्रामथान गाउँपालिका वडा नम्बर ३ र ४ मा प्राधिकरणले तार काटेको छ । बिजुलीको खम्बा भाडाको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट तथा टिभी केबल प्रसारकहरूबीच विवाद छ । प्राधिकरणले २०७४ सालमा भएको सम्झौता बमोजिमको भाडा तिर्न ताकेता गरेको भए पनि इन्टरनेट प्रदायकहरूले त्यसलाई बेवास्ता गर्दै आएका थिए ।

याे पनि : फाइबर तार काटिएपछि आइस्पानले भन्यो- ‘इन्टरनेट सेवा दिने अवस्था रहेन’

प्राधिकरणले असोज १५ गतेसम्म भाडा नतिरे तार काट्ने सार्वजनिक सूचना निकालेको थियो । त्यस अनुसार बक्यौता भाडा रकम नतिरेपछि प्राधिकरणले शनिबारबाटै साङ्केतिक रूपमा धमाधम तार काट्न थालेको हो । नेपाल विद्युत् प्राधिकरण विराटनगर ग्राहक सेवा केन्द्रका प्रमुख रोशनकुमार खड्काले साङ्केतिक रूपमा विराटनगर र आसपासका केही ठाउँको तार काटिएको बताए ।  आज केन्द्रबाट आउने निर्देशनका आधारमा थप कारबाही अघि बढ्ने खड्काले बताए ।

विराटनगरमा इन्टरनेट प्रदायक र टिभी केबल प्रसारकहरूसमेत गरी ८ वटा कम्पनीले नेपाल विद्युत् प्राधिकरणको बिजुलीको खम्बा प्रयोग गरेर उपभोक्ताहरूलाई सेवा दिँदै आएका छन् । ती कम्पनीले २०७५ सालदेखि प्राधिकरणलाई बिजुलीको पोल प्रयोग गरेबापत भाडा तिरेका छैनन् । आर्थिक वर्ष २०७७र७८ सम्मको झण्डै ५ करोड हाराहारीमा बक्यौता असुल गर्नुपर्ने देखिएको प्रमुख  खड्का जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *