पोखराबाट पुसमा आन्तरिक र वैशाखमा अन्तरराष्ट्रिय उडान हुने

पोखरा । निर्माणाधीन पोखरा विमानस्थलको ८४ प्रतिशत काम सकिएको छ । १ सय ८५ चिनियाँ र २ सय ३० नेपाली कामदार दैनिक काम गरिरहेका छन् । १ सय १० वटा हेभी मेसिन प्रयोग गरिएको छ । २२ अर्बभन्दा बढी लागतको परियोजना केहि महिनाभित्रै सक्ने लक्ष्य छ ।

जनवरी १ तारिखदेखि आन्तरिक उडान भर्ने गरी कामलाई तीव्रता दिइएको आयोजना प्रमुख विनेश मुनन्कर्मीले जानकारी दिए । त्यसको १ वर्षभित्रमा अन्तरराष्ट्रिय उडान भर्न मिल्छ । आउँदो वैशाखदेखि अन्तरराष्ट्रिय उडान हुने उनको भनाइ छ । तर त्यसका लागि आन्तरिक व्यवस्थापन भने टुङ्गिएको छैन ।

अहिले विमानस्थलका लागि सबैभन्दा टाउको दुखाइ बनेको छ पोखराको नाला व्यवस्थापन । ‘खोल्साखोल्सी अतिक्रमणमा परेका छन् ।

पानीको राम्रो निकास छैन । पोखराभरिको पानी विमानस्थलमा पुग्छ,’ कल्सल्ट्यान्स इन्जिनियर भूपेन्द्र शेरचन भन्छन्, ‘यसको व्यवस्थापन साह्रै चुनौतिपूर्ण बनिरहेको छ । सरकारी पक्षबाट पनि सहयोग र समन्वय आवश्यक छ ।’ विमानस्थलमा यसैगरी पानीको चाप बढ्दै गए धेरै क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने शेरचनको भनाइ छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पानी निकासको समाधान गर्न प्रदेशले संघसँग समन्वय गर्न तयार रहेको बताए । ‘प्रोजेक्ट संघ सरकारको हो । तर हाम्रो प्रदेशभित्र परेपछि हामीले चासो दिनुपर्छ,’ उनले भने, ‘यसबाट फाइदा हुने गण्डकी प्रदेशलाई नै हो । पर्यटक आउने गण्डकी प्रदेशकै लागि हो । हामी सकेजति समन्वय गर्छौँ ।’ पानी र ढल व्यवस्थापनका लागि ३४ करोड रुपैयाँ लाग्ने अनुमान छ । उक्त रकम प्रदेशको बजेटबाट व्यवस्था गर्न सम्भव नभएकोले संघलाई गुहार्ने पोखरेलले बताए ।

योसँगै ल्यान्डफील व्यवस्थापन पनि अर्को चुनौती हो । हाल पोखरा १४ बाच्छेबुडुवामा रहेको ल्यान्डफिल सार्नुपर्ने अनिवार्य शर्त छ । पोखरा महानगरपालिकाले हालसम्म सार्ने चाँजो मिलाएको छैन । जग्गा खोजी समिति गठन गरेर सम्भावित जग्गाहरू पहिचान गरिएको छ । तथापि निर्माणको काम थालिएको छैन ।

उडानको मुखमा पर्ने रिठ्ठेपानी डाँडा पनि चुनौति हो । डाँडा खार्न स्थानीयस्तरबाट निजी जग्गा कटान सुरु भए पनि व्यवस्थित रुपमा अगाडि बढ्न नसकेको आयोजना प्रमुख मुनन्कर्मी बताउँछन् ।

‘सरकारी वनतर्फको कटान सुरु गर्न पुनः ईआईए गर्नुपर्नेछ । यो अझै पास भएको छैन,’ उनले भने, ‘ताकेता गरेको गर्‍यै छौँ । खै त काम अघि बढ्दैन ।’ विमानस्थलभित्र आयल डिपो निर्माणको काममा पनि ढिलासुस्ती भएको उनको भनाइ छ । विदेशबाट सिधै उडानका लागि आवश्यक तयारी गर्न ढिलो भइसकेको सरोकारवालाहरू बताउँछन् । सुरक्षा, भन्सार, अध्यागमन कार्यालय सञ्चालन लगायत काम अहिले नै थाल्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *