नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जा सहकार्यबारे छलफल 

काठमाडौं । लगानी बोर्ड, बेलायतस्थित नेपाली दूतावास र बेलायत सरकारको अन्तर्राष्ट्रिय व्यापार विभागका अधिकारीबीच बुधबार भर्चुअल छलफल भएको छ । बेलायतको संयोजनमा आगामी नोभेम्बर १ देखि १२ सम्म स्कटल्याण्डको ग्लास्गो शहरमा आयोजना हुन लागेको ‘द २०२१ यूएन क्लाइमेट चेन्ज कन्फ्रेन्स’को पूर्वतयारी स्वरुप बुधबार उक्त छलफल कार्यक्रम आयोजना गरिएको हो ।

पेरिस सम्झौताको भावना अनुसार कार्वन उत्सर्जन न्यूनिकरण गरी हरित र दीगो अर्थतन्त्र निर्माणका लागि नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जाको क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने तथा नेपालको नवीकरणीय ऊर्जामा हरित लगानी प्रवर्द्धन गर्ने उद्देश्यले छलफल कार्यक्रमको आयोजना गरिएको लगानी बोर्ड कार्यालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले नेपालको हरित पूर्वाधारमा लगानी गरी लाभान्वित हुन तथा सन् २०३० सम्ममा उच्च मध्यम आय भएको राष्ट्रको स्तरमा पुग्ने नेपालको लक्ष्यमा सघाउन बेलायती लगानीकर्ताहरुलाई अनुरोध गरे । यस सन्दर्भमा नेपाल सरकारको तर्फबाट सम्पूर्ण सहयोग तथा सहजीकरण रहने प्रतिबद्धता समेत जाहेर गरे । अर्थमन्त्री शर्माले नेपालमा उत्पादित स्वच्छ तथा नवीकरणीय ऊर्जाको निर्यातले छिमेकी मुलुकको कार्बनको भार समेत कटौती गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ऊर्जा क्षेत्रमा नेपालमा रहेको अपार सम्भावनाको उपयोग गर्न नेपाल र बेलायतका लगानीकर्ताहरुलाई अपिल गर्दै सो क्षेत्रमा वैदेशिक एवं हरित लगानी आकर्षण तथा प्रवर्द्धन गर्न लगानी बोर्डको कार्यालय कटिबद्ध रहेको बताए । उनले नवीकरणीय तथा स्वच्छ उर्जाको विकासको लागि नेपाल सरकारले नीति तथा कानूनको समयानुकुल सुधार गरी लगानीको लागि अनुकुल वातावरण तयार पारेको समेत बताए ।

कार्यक्रममा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल, वन तथा वातावरण मन्त्रालयका सहसचिव राधा वाग्ले र लगानी बोर्डको कार्यालयका सीडीई सागरराज गौतमले नेपालमा हरित लगानीको सम्भावना र क्षेत्रहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

नेपाल र बेलायतका लगानीकर्ताहरुको सहभागिता रहेको उक्त कार्यक्रममा युके–नेपाल व्यापार तथा लगानी फोरमका सभापति लर्ड शेख, नेपालस्थित बेलायती महामहिम राजदूत निकोला पोलिट र नेपाली राजदूतावासकी डेपुटी हेड अफ मिशन रोशन खनालले हरित अर्थतन्त्रको प्रवर्द्धनका लागि नेपाल र बेलायतका निजी क्षेत्रहरुबीचको सहयोग र सहकार्यबाट द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक लगायत नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालका अध्यक्षहरुले समेत सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *