३८ मेगावाटको माथिल्लो आँखुखोलामा लगानी जुट्यो

काठमाडौँ । व्यवसायी अरुणराज सुमार्गीले निर्माण गर्ने ३८ मेगावाटको माथिल्लो आँखु खोला जलविद्युत् आयोजनाकाे वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लाेजर) पूरा भएकाे छ । धादिङ्गको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिकामा निर्माण हुने उक्त आयोजनामा ५ ओटा वाणिज्य बैंकले सहवित्तीयकरणमा लगानी गर्ने भएका छन् ।

सुमार्गी अध्यक्ष रहेको धादिङ्ग आँखु खोला हाइड्रो प्रालिले प्रवद्र्धन गर्न लागेको उक्त जलविद्युत् आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा नेपाल एसबिआइ बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक नेपाल र सिभिल बैंकले लगानी गर्ने भएका हुन् ।

ऋण लगानी गर्ने बैंकहरु र प्रवद्र्धक कम्पनीबीच १२ असोजमा सहवित्तीयकरण लगानी सम्झौतामा हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।

करीब रु. ७ अर्ब ३३ करोड रुपैयाँ अनुमानित लगाी रहेको उक्त आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी(इक्विटी) लगानी हुने कम्पनीले जनाएको छ । उक्त पूँजी संरचनाअनुसार ७५ प्रतिशतले हुन आउने ५ अर्ब ५० करोड रुपैयाँको ऋण लगानी बैंकहरुले गर्ने छन् । बाँकी २५ प्रतिशत लगानी आयोजनाका प्रवद्र्धक सुमार्गीलगायतबाट जुटाइने छ ।

आगामी ४ वर्षभित्र निर्माण सकेर व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।

नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधिन अवस्थामा रहेको समेत कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको नुवाकोटमा रहेको त्रिशुली ३ बी हव सबस्टेशनमा जोडिने छ ।

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट घन्टा र बर्खामा १५२.४३८ गिगावाट गरी वार्षिक २१९.१३८ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *