हत्या आरोपमा फरार वडाध्यक्षले गरे पाँच महिनापछि आत्मसमर्पण

जनकपुरधाम । हत्या आरोप लागेपछि फरार भएका धनुषाका एक वडाध्यक्षले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । हत्याको आरोप लागेपछि पाँच महिना भन्दा बढीदेखि फरार जिल्लाको सबैला नगरपालिका-४ का वडाध्यक्ष कुशेश्वर ठाकुरले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।

सडक विस्तारको क्रममा गत वैशाख १३ मा भएको विवादको क्रममा सोही ठाउँकी सुमिन्त्रा देवी यादवको कुटपिट गरी हत्या गरेको आरोप लागेपछि वडाध्यक्ष ठाकुर फरार भएका थिए । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको १० जना आरोपितमध्ये वडाध्यक्ष ठाकुरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

सिमासाल खोज्ने क्रममा दुई पक्षबीच विवाद हुँदा सुमिन्त्रालाई कुटपिट गरी घाइते बनाइएको थियो । उनको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो । सो घटनामा सुमिन्त्रासहित स्थानीय रामचन्द्र बिराजी, रितिक यादव, दीपक यादव र रञ्जित यादवसमेत गम्भीर घाइते भएका थिए ।

उपचारको क्रममा सुमिन्त्राको मृत्यु भएपछि परिवारले वडाध्यक्षसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गराएका थिए । मुद्दाको अनुसन्धानको क्रममा गत जेठ १६ मा मोरङ प्रहरीले उक्त मुद्दा धनुषाको इलाका प्रहरी कार्यालय सबैलालाई पठाएको थियो ।

सबैला प्रहरीमा मुद्दा आएपछि फरार आरोपितमध्ये वडाध्यक्ष ठाकुर स्वयं हाजिर भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए । प्रहरी नियन्त्रणमा रहेका वडाध्यक्ष कुशेश्वरविरुद्ध ७ दिने म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *