खिम्तीको ५० प्रतिशत स्वामित्व प्राधिकरणमा ल्याउन छलफल सुरु

काठमाडौँ । हिमाल पावर कम्पनीले निर्माण गरी सञ्चालन गरिरहेको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत सेयर स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा ल्याउन छलफल सुरु भएको छ । स्वामित्व हस्तान्तरणको प्रक्रिया र सञ्चालको मोडलबारे टुङ्गो लगाउन ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालको संयोजकत्वमा बनेको कार्यदलले हिमाल पावर र प्राधिकरणसँग छलफल थालेको हो ।

नर्वेजियन लगानीमा बनेको उक्त जलविद्युत् आयोजना विकास सम्झौता(पीडीए) अनुसार सञ्चालनमा आएको २० वर्षपछि नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा आउने व्यवस्था छ । त्यस्तै, सञ्चालको ५० वर्षपछि उक्त परियोजना पूर्ण रुपमा नेपाल सरकारको स्वामित्वमा आउने व्यवस्था छ । हाल सञ्चालनको २० वर्ष पुगिसकेकोले प्राधिकरणमा आधा स्वामित्व आउने भएको हो ।

‘२० वर्षपछि खिम्तीको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणले १ रुपैयाँ तिरेर खरिद गर्ने भन्ने पीडीएको व्यवस्थाका आधारमा छलफल थालिएको हो,’ सहसचिव भेटुवालले भने, ‘सित्तैमा लिएको होइन, किनेको हो भन्न मिल्ने गरी १ रुपैयाँमा किन्ने सांकेतिक व्यवस्था पीडीएमा भएको रहेछ । त्यसैका आधारमा हाल छलफल भइरहेको छ ।’

यसबारे कानुमा भएका व्यवस्थालगायतबारे छलफल भइरहेको उनले बताए । सोमबार, मंगलबार भएको भएको र बुधबार पनि छलफललाई निरन्तरता दिइने उनले बताए ।

धेरैजसो विषय टुङ्गो लाग्ने क्रममा रहेको तर यसले समय लिने उनले बताए । उक्त कम्पनीको ५० प्रतिशत स्वामित्व गत वर्ष नै प्राधिकरणमा आउनु पर्ने भए पनि कम्पनीका सञ्चालक कोभिडका कारण नर्बेबाट आउन नसकेकोले उक्त कार्य लम्बिएको उनले बताए ।

२० वर्ष पुगेपछि पुनः विद्युत् खरिद सम्झौता(पीपीए) गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार गत असारमै नयाँ अन्तरिम पीपीए गरिसकिएको छ ।

विद्युत् प्राधिकरणले विद्युत् खरिदबापत हिमाल पावरलाई प्रतियुनिट २ रुपैयाँका दरले अनतरकालिन भुक्तानी गरिरहेको छ । आधा स्वामित्व प्राधिकरणमा आउँदा २ अर्ब ४९ करोड ६८ लाख रुपैयाँ बराबरको हिस्सा प्राप्त हुन्छ ।

प्राधिकरण र हिमाल पावरबीच खिम्तीको विद्युत् खरिदबिक्री सम्झौता २०५१ साल मंसिर २९ गते भएको थियो । २०५७ सालदेखि खिम्तीबाट व्यवसायीक रुपमा विद्युत् उत्पादन हुने सुरु भएको थियो ।

यो आयोजना निर्माण–स्वामित्व ग्रहण–सञ्चालन–हस्तान्तरण(बुट) मोडलमा निर्माण भएको हो । आयोजनाको तत्कालिन लागत १५ करोड २० लाख अमेरिकी डलर रहेको थियो । उक्त आयोजनाको विद्युत् खरिद सम्झौता डलरमा गरिएकोले डलरको मूल्य बढेसँगै प्राधिकरणले उक्त आयोजनाको विद्युत् प्रतियुनिट २१ रुपैयाँसम्ममा खरिद गर्नुपरेको थियो ।

खिम्तीले यो अवधिमा झण्डै ५ अर्ब रुपैयाँको कमाई गरेको छ । प्राधिकरणले खिम्तीको विद्युत् खरिदमा उक्त रकमको झण्डै आधा घाटा व्यहोरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *