राजदूतहरूको निम्तो- नेपाल खुल्यो, घुम्न आउनुस्

पोखरा । उज्यालो नहुँदै हिमालमा बिहानी घामको राता किरण ठोक्किए । लामो समय मनसुनी वर्षाले छोपेको माछापुच्छ्रे, अन्नपूर्ण र धवलागिरिको घुम्टो उघारियो । चाडबाडको सन्देश फाल्दै छन्, मौसम । दशैँ तिहारको मौसम, शरद ऋतु । शरद चाडबाडसँग मात्रै जोडिँदैन, घुम्ने मौसमका रूपमा पनि परिचित छ । घुमन्तेका लागि शरद सबैभन्दा उत्तम मौसम हो ।

सेप्टेम्बर २७, विश्व पर्यटन दिवस । कोभिड-१९ ले संसार घरभित्रै थुनिएको छ । कतै खोप धमाधम चलिरहेको छ, कतै कोरोना जोखिम झन् फस्टाएको छ । नेपालले लक्षित समूहलाई खोप वितरण गर्दै छ । पोखरा र गण्डकीका ४० प्रतिशत हाराहारी व्यवसायी र कर्मचारीले खोप पाइसके । अव पोखरा बिस्तारै चलायमान हुँदैछ ।

पोखरा र गण्डकीका लागि सुखद संयोग बन्यो, यस वर्षको पर्यटन दिवस । गण्डकी सरकार र पर्यटन सम्बद्ध सङ्घ संस्थाको पहलमा गण्डकीमा ११ देशका राजदूत र कूटनीतिक नियोगका पदाधिकारी सहित २५ जना भिआइपीको भ्रमण भयो । उनीहरू पोखरा आएनन् मात्रै, पोखरा आसपासको हाइकिङ गरे, स्थानीयले पकाएका खानेकुरा खाए । हिमाललाई पृष्ठभूमिमा पारेर फोटो र भिडियो खिचे । डाँडैबाट विश्वलाई नेपाल घुम्ने निम्तो बाँडे । भ्रमण दलले कास्कीकोटमा रहेको दक्षिण एसियाकै पहिलो अपाङ्गमैत्री पदयात्रा मार्गबाट हाइकिङ सुरु गरेको थियो ।

पाहुनाहरूलाई स्थानीयले परम्परागत पोसाकमा सजिएर स्थानीय खाजा खुवाए । ठाउँ ठाउँमा फूलका गुच्छा र मालाले स्वागत, कतै पञ्चेबाजा र नौमती बाजा घन्किरहेका थिए । शाहवंशको उद्गमस्थल कास्कीकोट दरबार, कश्यप तालदेखि उनीहरू सराङकोटसम्म हिँडे । ‘नेपालको संस्कृति र प्रकृति बयान गर्न सक्ने खालको छैन । सुन्दर हिमाल र सुन्दर मान्छेहरूको आतिथ्यताले मोहित बनाएको छ,’ साउदी अरबका राजदूत मुसाइल विन सुलेमान अल मर्वानीले भने, ‘यस्तो ठाउँ घुम्न पाउँदा को आउँदैन होला रु म सबैलाई भन्छु, एक पटक नेपालको भ्रमण गर्नुस्, अझै पोखराको ।’

जर्मन राजदूत डा. थोमस प्रिन्जले पोखरासँग प्राकृतिक विविधता रहेको बताए । ‘नजिकै हिमाल छ । नजिकै समथर बेँसी । यति धेरै विविधता सायदै पाइन्छ,’ उनी भन्छन्, ‘यहाँका हरियाली र डाँडा टाकुरा आफैमा सुन्दर छन् ।’

संयुक्त राष्ट्र सङ्घको नेपालस्थित आवासीय प्रतिनिधि सराबे सलोनयन्तिले भिडियो मार्फत आफ्ना साथीहरूलाई नेपाल भ्रमणको निम्तो दिइन् । ‘म यतिबेला गण्डकी प्रदेशमा छु । कूटनीतिक मिसनका लागि आएको हुँ । कोभिड सङ्क्रमणपछि औपचारिक रूपमा पर्यटन खुलेको घोषणा गर्न हामी सबै यहाँ उपस्थित भएका हौँ,’ उनले भनिन्, ‘यहाँको पर्यटन दिगो छ । पहुँचयोग्य पनि छ । र यहाँको पर्यटन समावेशी छ । अब नेपाल खुला भएको छ । नेपाल घुम्न आउनुस् ।’

भ्रमणमा युएई, कतार, फिनल्यान्ड, दक्षिण कोरिया, साउदी अरेबिया, श्रीलङ्का, थाइल्यान्ड, बङ्गलादेश, इजिप्ट, जर्मन र मलेसियाका राजदूत सहभागी छन् । राजदूत, कूटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि गरी आज २८ सदस्यीय टोली पोखरा आइपुगेका हुन् । टोलीले सोमबार साँझ पोखराको लेकसाईडमा आयोजित मिनी स्ट्रिट फेस्टिवलमा सहभागिता जनाएका छन् । यो भ्रमणले नेपालको पर्यटनमा अतुलनीय योगदान पुग्ने विश्वास पर्यटन व्यवसायीहरूको छ । ‘पोखराको पर्यटन खुल्यो । यो भ्रमणले ठूलो उत्साह भरेको छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले भने, ‘हामी तयार छौँ, पर्यटकलाई सुविधायुक्त र सुरक्षित आतिथ्यताका लागि ।’

पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख काशीराम भण्डारीले राजदूतको भ्रमणपछि आफ्ना देशका नागरिकलाई नेपालको सन्देश पठाउने र पर्यटक बनेर उनीहरू नेपाल आउने बताए । लामो समय मनसुनी वर्षा र त्यो भन्दा लामो समय कोभिडले सुस्ताएको पोखरा एकाएक खुलेको छ । पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल बढेको छ । कास्कीकोट दरबार शाहवंशको उद्गम हो । कुलमण्डन खान यहाँको पहिलो राजा थिए तर, अहिले अहिले राजसंस्था भने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *