विश्व बैंकका उपाध्यक्षद्वारा समावेशी विकासमा जोड

काठमाडौँ । कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्न नेपाललाई सघाउने प्रतिवद्धता दोहोर्याउँदै दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले सोमबार आफ्नो पाँच दिने नेपाल भ्रमण सम्पन्न गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्मासँग अलग अलग भेट गर्दै उपाध्यक्ष सेफरले नेपालको कोभिड–१९ खोपको तीव्र विस्तार तथा आर्थिक पुनुरूत्थानमा जोडसहितको कोभिड प्रतिकार्यको सराहना गरे । उक्त बैठकहरूले सुधार कार्यान्वयन तथा द्रुत लगानी र नेपालको दिगो विकासका लागि उच्च सहकार्यको महत्वलाई समेत जोड दिएका थिए ।

‘२०७२ सालको भुकम्प लगायतका विविध आघातहरूबाट थप सशक्तरूपमा माथी उठेको र कोभिड–१९ महामारीबाट पनि थप सबल पुनर्निर्माणका लागि एउटा स्पष्ट नीति सहित काम गरिरहेको नेपाल वास्तवमै उत्थानशीलताको एउटा बलियो दृष्टान्त हो,’ हार्टविग सेफरले भने ।

विकासका लागि नेपालको साझेदार हुनुमा विश्व बैंक गर्व गर्छ र नेपालको हरित, उत्थानशील र समावेशी पुनुरूत्थानका लागि हामी सरकार, विकास साझेदारहरु, निजी क्षेत्र, नागरिक समाज, र अन्य प्रमुख सरोकारवालाहरु मिलेर काम गर्न प्रतिवद्ध छौं,’ उलने भने ।

नेपालको हरित, उत्थानशील र समावेशी विकाससम्बन्धी गत असोज सात गते आयोजना गरिएको उच्च स्तरीय सम्मेलनको अवसरमा जारी गरिएको काठमाडौं घोषणापत्रमा हस्ताक्षर गर्न विश्व बैंक नेपाल सरकार र विकास साझेदारहरुको साथमा सहभागी भएको थियो ।

उक्त घोषणापत्रले ग्रिड भिजनप्रतिको नेपाल सरकारको प्रतिवद्धतालाई उजागर गर्दै सम्भावित प्राथमिकता लगानी, बजार प्रोत्साहन र नीतिहरु, संस्थागत कार्य लगायतका क्षेत्रहरू तथा ग्रिडतर्फको नेपालको यात्राका लागि आवश्यक सूचनाहरू सहित साझेदारहरूको सहयोगलाई एकतावद्ध गरेको छ ।

‘विकासको एक नयाँ आयाम तर्फ लम्केकोमा म नेपालको प्रसंशा गर्न चाहन्छु— त्यो नयाँ आयाम नेपालको हरित, उत्थानशील र समावेशी विकासको खाका अर्थात ग्रिड हो । ग्रिड अवधारणाले जनता, पृथ्वी र नेपालको अर्थव्यवश्थाका लागि छोटो, मध्यम, तथा दीर्घकालीन रूपमा फाइदा प्रदान गर्नेछ,’ उपाध्यक्ष सेफरले भने, ‘नेपालको दिगो विकासलाई सुदृढिकरण गर्नका लागि काठमाडौँ घोषणापत्रमा समर्थन र सहयोग गर्न पाउँदा विश्व बैंक निकै हर्षित छ ।’

प्रादेशिक मुख्यमन्त्रीहरु र मेयरहरु, र निजी क्षेत्रका प्रतिनिधिहरु सँगको पनि बैठकहरुमा पनि उपाध्यक्ष श्री सेफर सहभागी भएका थिए । उनले प्रस्तावित माथिल्लो अरूण जलविद्युत आयोजना निर्माणस्थल तथा प्रदेश नं १ मा ढल्केबर सबस्टेसनको पनि भ्रमण तथा अवलोकन गरे ।

विश्व बैंकले प्रस्तावित माथिल्लो अरूण जलविद्युत आयोजनाको विकासका लागि तथा नेपाल–भारत उच्च भोल्युमको सिमापार विद्युत व्यापारलाई सहजीकरण गर्नका लागि नेपालकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनको लागि सम्भाव्यता अध्ययनमा सहयोग गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *