‘स्ट्यान्डअप शो’ निर्देशन गर्दै ‘प्रेम गीत ३’ अभिनेता मनिष

काठमाडौँ । चलचित्र ‘प्रेम गीत-३’बाट अभिनय यात्रा सुरु गरेका मनिष राउत स्टान्डअप शोमा जोडिएका छन् । उनले हाल ‘इएफए स्टान्डअप’ निर्देशन गरिरहेका छन् । चलचित्र रिलिज नभए पनि विभिन्न ब्रान्डसँग जोडिएका राउत ब्रान्ड एम्बासडर रहेको क्लोथिङ ब्रान्ड ‘डक्टर डेनिम’ले शोलाई प्रमुख प्रायोजन गरेको छ ।
एभरेस्ट फिल्म एकेडेमीले निर्माण गरेको यो शो चलिरहेका शोहरूभन्दा पृथक रहेको निर्देशक राउतले बताए । शोमा एउटा कलाकारलाई नै विभिन्न चरित्रमा देख्न पाइनेछ । शोका केही शृङ्खला सार्वजनिक भइसकेका छन् ।
‘इएफए इन्टरटेन्मेन्ट’ युट्युब च्यानलबाट साप्ताहिक रूपमा आउने शोमा एभरेष्ट फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूकै सहभागिता रहनेछ । गौरीशङ्कर धुँजुको डीओपी रहेको शोमा सौरभ पोखरेल, रञ्जन कक्षपति र विकास सिटौलाले क्यामेरा चलाइरहेका छन् ।
सम्पादन रोहनकुमालले गरेका छन् । त्यस्तै शोका निर्माता विशाल श्रेष्ठ र जोश्चल राजभण्डारी हुन् । मनिषले एकेडेमीसँगको सहकार्यमा अन्य सिरिज र चलचित्रहरू बनाउने बताए ।








