पर्यटन दिवसको शुभकामना

पर्यटनकर्मीका लागि आजको दिन उत्सव । वर्षभरि श्रम र सेवा गर्ने । २७ सेप्टेम्बर उत्सव मनाउने । उत्सव हो विश्व पर्यटन दिवस । यस वर्ष मन गह्रुङ्गो छ । उत्सव मनाउन रतिभर मन छैन । महामारी कोभिड-१९ ले पीडा दिएको छ । करिब दुई वर्ष भयो । पीडा भोगेको । विश्व नै आक्रान्त छ । पर्यटन क्षेत्र थिलथिलो बनेको छ । अन्य सबै क्षेत्र पनि थिलथिलो नै छ । अझै कति समय लाग्छ कुन्नि ? यसबाट छुटकारा पाउन । कतिको जीवन उजाड बनाएको छ । अब अझै पीडा भोग्न नपरोस् । चाँडै यसको कब्जाबाट उम्किन पाऔँ । यही कामना गरौँ ।

संस्कृतिको संरक्षण र शान्तिका लागि विश्व पर्यटन दिवस मनाउन सुरु गरिएको हो । सन् १९८० बाट सुरु भएको यो दिवसमा प्रत्येक साल बेग्ला बेग्लै थिममा उत्सव मनाइन्छ । यस वर्षको थिम पर्यटनको वृद्धिका लागि समावेशिता । पर्यटन विकास हुनका लागि कुनै एकल प्रयास निरर्थक हुन्छ । यदि साँच्चै पर्यटनलाई अग्रपङ्क्तिमा लैजाने हो भने सबै क्षेत्रको समावेशिता आवश्यक हुन्छ । नेपालले सन् २०११ मा नेपाल पर्यटन वर्ष २०११ मनाउँदा पर्यटनका लागि सँगसँगै भन्ने नारा लिएको थियो । अहिलेको नारा र उति बेलाको नाराको भाव एउटै छ । समावेशिता वा सँगसँगै । पर्यटनमा हातेमालोको खाँचो छ । व्यवसायी-व्यवसायी बिच हातेमालो । निजी क्षेत्र र सरकारी क्षेत्र बिच सहकार्य आजको आवश्यकता हो ।

सन् २०२० लाई सरकारले पर्यटन वर्षको रूपमा घोषणा गरेको थियो । पर्यटन केन्द्रित नीति तथा कार्यक्रमहरू तय भएका थिए । पर्यटन वर्षको हर्ष बेग्लै थियो । सबै तह तप्का आ-आफ्नै तवरबाट लागेका थिए । पर्यटनप्रतिको सचेतना फैलिएको थियो । कति गन्तव्यले आफूलाई अब्बल बनाउन दिनरात मेहनत गरेको थियो । पर्यटन वर्षमा पर्यटकको घुुइचो लाग्छ भन्ने आशामा पर्यटन व्यवसायीले आफ्ना लगानीमा बढोत्तरी गरेका थिए । तर, विडम्बना कोभिडले ठूलै धक्का दियो । अझै पनि कहिलेसम्म यसको असर रहने हो पत्तो छैन । पर्यटनकर्मीहरू धरमराइ रहेका छन् । कतिले सदाका लागि आफ्नो व्यवसाय बन्द गर्नुपर्‍यो । कतिले व्यवसाय परिवर्तन गरे । कति छाड्ने कि पकडी राख्ने भन्ने अन्यौलता छन् । धेरै जनशक्तिहरू पलायन भएका छन् । पलायन हुनबाट कसले रोक्ने हो ? यसको नेतृत्व कसले गर्ने हो । यसको निक्र्यौल हुन जरुरी छ ।

पर्यटनको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ । निजी क्षेत्र बलियो भयो भने देश समृद्ध बन्दछ । अहिले निजी क्षेत्रलाई साथको खाँचो छ । पर्यटनमा विपत्ति सधैँ रहिरहँदैन । तर, जति दिनसम्म रहन्छ त्यस बेलासम्म निजी क्षेत्रलाई थम थमाउन जरुरी छ । आज एउटा निजी क्षेत्र उठ्न सकेन भने भोलिका दिनमा अन्यले यस क्षेत्रमा हात हाल्न सक्दैनन् । यसका लागि पनि सम्बन्धित निकायले ढाडस दिन जरुरी छ । अहिले पर्यटन लगानीकर्ताका लागि शून्य समय हो । यस बेला सम्बन्धित निकायले उनीहरूको क्षमता अभिवृद्धि, मनोबल उच्च बनाउने कार्यक्रम, प्रोडक्ट तयारी, प्रोडक्ट वा गन्तव्यको प्रचारप्रसारलगायतका कार्यमा सहभागी गराउनु वा सहजीकरण गरिदिनुपर्छ ।

जहाँ इच्छा त्यहाँ उपाय । जहाँ समस्या त्यहाँ समाधान । बच्चैदेखि सुनेको यो उखान । अहिले पनि समस्याको बेला याद आउँछ । अनि फेरि उठेर हिँड्ने साहस दिन्छ । यसै उक्तिलाई आत्मसात् गर्दै हामी व्यवसायीले अहिलेको अवस्थामा नडगमगाई निरन्तर पाइला चाल्नुपर्नेछ । कोभिडले हामीलाई समस्या दिएको छ । तर, सधैँभरि त यसले पक्कै पनि दुःख दिँदैन नै होला । भोलिको दिन त सुनौलो किरण छाउने नै छ पर्यटनमा । मात्र केही समय धैर्यता अपनाउनु पर्नेछ । हामी सबै व्यवसायीको आत्मबलमा कमी नहोस् ।

सबैमा ४२ औँ विश्व पर्यटन दिवसको अनगिन्ती शुभकामना ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *