पोखरा भ्रमणमा ११ देशका राजदूत

पोखरा । गण्डकी सरकारको समन्वयमा १० देशका राजदूतसहित उच्च पदाधिकारीहरू पोखरा भ्रमणमा निस्किएका छन् । दुई दिने भ्रमणका क्रममा उनीहरू आइतबार पोखरा आइपुगेका हुन् ।

विश्व पर्यटन दिवसको अवसरमा पोखरा खुलेको सन्देश दिन राजदूतको भ्रमण गराइएको हो । भ्रमणमा युएई, कतार, फिनल्याण्ड, दक्षिण कोरिया, साउदी अरेविया, श्रीलंका, थाईल्यान्ड, बंगलादेश, इजिप्ट, जर्मन र मलेसियाका राजदूत सहभागी छन् ।

पोखराले ४१ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । सोही कार्यक्रमका लागि राजदूतहरू पोखराको पाहुना बनेर आएका हुन् । राजदूतका साथमा कुटनीतिक नियोगका पदाधिकारीसहित २५ जनाको टोली छ । उनीहरूको भ्रमणले लामो समयदेखि थलिएको पर्यटन व्यवसाय उकासिने व्यवसायीहरूको अपेक्षा छ ।

उनीहरूले सोमबार बिहान धार्मिक तथा प्राकृतिक सम्पदाहरूको भ्रमणसँगै हाईकिङ गर्नेछन् । अन्नपूर्ण गाउँपालिकास्थित नाउँडाडाबाट लन्चका लागि सराङ्कोट पुग्नेछन् । त्यसपछि सरकारी प्रतिनिधिसहितको उपस्थितिमा कास्कीकोटको भुजेल गाउँदेखि दरबार हुँदै कश्यप तालसम्म हाइकिङ हुनेछ ।

दिउँसो अन्तरराष्ट्रिय पर्वतीय संग्रहालय, डेभिज फल पुगेर फेवातालमा बोटिङ गर्ने कार्यक्रम तय भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए ।

गतिविधि बढाउनकै लागि रेस्टुरेन्ट एन्ड बार एशोसिएसन पोखराले सोमबार साँझ मिनी सडक महोत्सव आयोजना गरेको छ । लामो समय कोरोना महामारीका कारण थला परेको पोखराको पर्यटन व्यवसाय राजदूतको सामूहिक भ्रमणले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ । यो कार्यक्रमले पोखरा घुम्न सुरक्षित छ भन्ने सन्देश दिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *