काँग्रेसको पोखरा महानगरको सभापतिमा बिजुक्छे विजयी 

पोखरा । नेपाली काँग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनामा निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीलाई ६८ मतान्तरले पराजित गर्दै बिजुक्छे सभापतिमा निर्वाचित भएका हुन् ।

बिजुक्छेले ४१४ मत पाउँदा पराजुलीले ३४६ मत प्राप्त गरे । १३७० मत रहेको यहाँ १३४४ खसेको थियो । अर्का उम्मेदवार रामराज लामिछानेले २०९ मत, मिलन तिवारीले १५३, मोहन बास्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गरे । सभापतिमा निर्वाचित बिजुक्छे निवर्तमान उपसभापति हुन् भने पोखरा उद्योग वाणिज्य सङ्घको महासचिव छन् । २०३६ सालबाट नेविसंघ हुँदै काँग्रेसको राजनीतिमा लागेका बिजुक्छे जिल्लामा शुक्रराज शर्मा प्यानल नजिक मानिन्छन् ।

यसै गरी उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन् । भण्डारीले ५६९ मत र बरालले ४६४ मत प्राप्त गरेका छन् । उपसभापतिमा ६ जना प्रतिस्पर्धी थिए । सचिवमा टुवराज बास्तोला र गणेशबहादुर थापा विजयी भए । बास्तोलाले ८५८ मत र थापाले ७८९ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी सुरेन्द्रबाबू तिवारीले ६२१ मत पाए ।

सहसचिवमा सङ्घर्ष कोइराला र सञ्जय आले विजयी भएका छन् । कोइरालाको ५८० र आलेको ४६५ मत आएको छ । सहसचिवमा ६ जना उम्मेदवार थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *