कास्की कांग्रेस महाधिवेशन : माछापुच्छ्रेमा वीरेन्द्र निर्वाचित, पोखरा र मादीको मतगणना बाँकी

पोखरा । नेपाली कांग्रेसको पालिकास्तरीय अधिवेशनमा कास्कीको अन्नपूर्ण र रुपा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने तीनवटा पालिकामा सहमति नजुटेपछि मतदान भएको छ ।

पोखरा महानगरपालिकासहित मादी र माछापुच्छ्रेमा मतदान भएको हो । माछापुच्छ्रेको भने नतिजासमेत आइसकेको छ । शनिबार अबेर सकिएको मतगणनाअनुसार वडाध्यक्षसमेत रहेका वीरेन्द्र गुरुङ सभापतिमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी मधुसुदन अधिकारीलाई १५ मतअन्तरले पराजीत गरी गुरुङ विजयी भएका हुन् । प्यानल नै लिएर चुनावमा गएका दुई समूहबाट कार्यसमितिमा भने एकलौटी नतिजा आएन । उपसभापतिमा अधिकारीको प्यालनबाट रामबहादुर गुरुङ र मिनबहादुर गुरुङ, सचिवमा केशवराज अधिकारी र सञ्जय लम्साल तथा सहसचिवमा बालकृष्ण गौतम र महादेव गुरुङ निर्वाचित भए । सहसचिव गुरुङ भने विरेन्द्र प्यानलका हुन् । त्यस्तै अन्य सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् ।

रुपा गाउँपालिकामा भने विमलबाबु न्यौपानेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको छ भने अन्नपूर्णको नेतृत्वमा मनपति भण्डारी चयन भएका छन् । मादीमा भर्खरै मतदान सुरु भएको छ । यामबहादुर गुरुङ र देवीजंग गुरुङ प्रतिस्पर्धामा छन् ।

पोखरा महानगरपालिकामा ६ जना सभापतिका उम्मेदवार छन् भने उपसभापतिमा ६ जना, सचिवमा ३ जना, सहसचिवमा ७ जनाले मनोनयन दर्ता गराएका छन् । महानगरको मतदान सकिएको छ । अबको केहिबेरमा मतगणना सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *