व्यापारी भन्छन्- ‘निर्यातमा नीतिगत समस्या छ’

विराटनगर । विश्व बजारमा मौलिक चिनारी बोकेका नेपाली वस्तुको माग भएपनि निर्यातमा देखिनु प्रक्रियागत जटिलता रहेको व्यवसायीले बताएका छन् । बढ्दो उत्पादन लागत तथा उत्पादन खर्च, ढुवानीको समस्याका साथै कूटनीतिक पहलको अभावजस्ता कारणले आशातित रूपमा निर्यात हुन नसकेको व्यवसायीको भनाइ छ ।

नेपाल व्यापार एकीकरण रणनीति २०१६ को आगामी संशोधनमा समावेश गर्नुपर्ने विषयवस्तुका सम्बन्धमा उद्योग संगठन, मोरङको आयोजना गरेको छलफलका क्रममा व्यवसायीले मौकिल उत्पादनको निर्यात र प्रवर्द्धनमा देखिएको जटिलताको बारेमा धारणा राखेका थिए ।

उद्योग संगठन मोरङका अध्यक्ष सुवेश प्याकुरेलले निर्यात प्रवर्द्धनमा देखिएका जटिलतालाई सम्बोधन गर्नेगरी आगामी रणनीति आउनुपर्ने बताए । ‘मौलिक उत्पादन निर्यातका मुख्य समस्या भनेको नीतिगत समस्या नै हो,’ प्याकुरेलले भने, ‘बढ्दो उत्पादन र लागत खर्च न्यूनीकरण गर्ने नीतिगत रुपमा बोलिनुपर्छ ।’

पूर्वअर्थसचिव एवम् संगठनका विशिष्ठ सल्लाहकार रामेश्वर खनाल नेपाल व्यापार एकीकरण रणनिति २०१६ सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक व्यापार अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबै क्षेत्रलाई समावेश गरी ईकोसिस्टको विकास गर्नुपर्ने बताउँछन् । आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका आन्तरिक उद्योगहरुको प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि गरी निर्यातलाई बढवा दिन सरकार, निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने खनालको भनाइ छ ।

‘राज्यले उद्योग व्यवसायहरुको विकासका लागि सहज र सरल नीति निर्माण गरी सहजीकरण गर्न आवश्यक छ,’ खनालले भने, ‘नीतिगत उल्झनलाई समाधान गर्नतर्फ राज्यले ध्यान नदिने र निजी क्षेत्रको ध्यान नजाने हो भने अवस्था नराम्रो छ ।’

नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्दिय सदस्य अविनाश बोहराले निर्यात व्यापारको महत्त्वपूर्ण पक्षका रूपमा रहेको सिपिङ कम्पनी नहुनु, डिटेन्शनका नाममा अतिरिक्त खर्चको व्ययभार उद्योगले व्यर्होर्नुपर्ने, अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त ल्याब नहुनुजस्ता कारणले निर्यात व्यापार अभिवृद्धि हुन नसकेको बताए ।

निर्यात अभिवृद्धिका लागि नीति निर्माणका साथै पूर्वाधार विकासमा सरकारले ध्यानदिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा संगठनका पूर्वअध्यक्ष मुकेश उपाध्याय, वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरालगायत निर्यातकर्ता उद्यमीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *