विश्व पर्यटन दिवसमा पोखरामा मिनी स्ट्रिट फेस्टिभल

पोखरा । पर्यटकीय चहलपहल बढाउनका लागि पोखरामा एकदिने मिनी स्ट्रिट फेस्टिभल हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएशन (रेवान) पोखराले असोज ११ गते पर्यटन दिवसको दिन महोत्सव गर्न लागेको हो ।

महोत्सवको सबै तयारी पूरा भएको छ । पोखरा खुलेको सन्देश दिनका लागि महोत्सव गर्न लागिएको अध्यक्ष लक्ष्मण बरालले बताए । लकडाउन खुलेसँगै पोखरा र आसपाका पर्यटकीय क्षेत्रहरू खुलेका छन् । बिस्तारै आन्तरिक पर्यटक पनि आउन थालेका छन् । मनाश्लु र धवलागिरि क्षेत्रमा पदयात्रा पर्यटक र हिमाल आरोहीहरू बढेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र र मनाश्लु संरक्षण क्षेत्र पर्यटकका लागि पूर्ण रूपमा खुलिसकेको छ ।

पोखरा खुला छ र व्यवसायीहरू सेवाका लागि तयार छन् भन्ने सन्देशका लागि फेस्टिभल गर्न लागेको बरालले सुनाए । ‘पोखरा खुलिसक्यो । हामी सेवाका लागि तयार छौँ । मापदण्ड अपनाएर व्यवसाय खोल्न भनिसकेका छौँ,’ उनले भने, ‘महोत्सवले पर्यटनमा केही उत्साह थप्ने विश्वास छ ।’

महोत्सव साँझ ५ बजेदेखि राति १० बजेसम्म अर्थात् पाँच घण्टा चल्नेछ । लेकसाईड स्थित बाराहीचोकदेखि खहरेचोकसम्म करिब डेढ किलोमिटर क्षेत्रमा सडकमै महोत्सव चलाउन लागिएको हो । महोत्सवमा विभिन्न साङ्गीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका परिकार प्रस्तुत प्रस्तुत गरिनेछ ।

पर्यटन दिवस मनाउन विभिन्न देशका राजदूतहरू र कूटनीतिक नियोगका उच्च पदस्थ अधिकारीहरू पोखरा आउन लागेका छन् । यही अवसरमा कार्यक्रम गरे विदेशसम्म सन्देश पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । पर्यटन व्यवसाय खोल्न मजदुर र व्यवसायीहरूले कोभिड विरुद्धको खोप समेत निरन्तर दिइएको छ । हालसम्म ४० प्रतिशतले खोप पाइसकेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *