कतारकी राजपरिवार सदस्य थानी मनास्लु आरोहणमा

पोखरा । मनास्लु हिमाल अहिले विदेशी आरोहीको रोजाइमा छ । अघिल्लो वर्ष बहराइनी राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफाले सफल आरोहण गरे । त्यसपछि यहाँ आरोहीको चाप बिस्तारै बढ्दै गइरहेको छ । अहिले कतारकी राजपरिवार सदस्य शेखा आस्मा अल थानीले आरोहण गर्ने भएकी छन् । थानी आरोहणका लागि बेसक्याम्प पुगिसकेकी स्थानीयले बताएका छन् ।

उनको सेप्टेम्बर २७ तारिखमा आरोहण गर्ने तालिका रहेको आरोहण दलले जनाएको छ । अघिल्लो सिजनमा सगरमाथा आरोहणका लागि आएकी थानी मौसम खराबीका कारण बेसक्याम्पबाटै फर्किएकी थिइन् । कतारमा महिला सशक्तीकरणको सन्देश दिन उनले मनास्लु आरोहण रोजेको उनले बताएकी छन् ।

‘राजकुमारी भन्ने हामीलाई थाहा छैन । तर थानी नाम गरेकी एक महिलाले अनुमति लिएकी छन्,’ पर्यटन विभागअन्तर्गत पर्वतारोहण हेर्ने अधिकृत मिरा आचार्यले भनिन्, ‘हामीले सबै विदेशीलाई गर्ने सम्मान एउटै छ । आतिथ्यता एउटै छ । उहाँले आफूलाई राजकुमारी भन्नुभएको पनि छैन ।’

यो सिजनमा दुवै खुट्टा नभएका रुसी आरोही रुस्तम नवियावले पनि मनास्लु चढ्न लागेका छन् । दुई जना रुसी गाइड र दुई जना शेर्पा गाइडसहित उनी पनि बेसक्याम्पमा पुगिसकेका छन् । नवियावको आरोहणले विश्व कीर्तिमान कायम हुनेछ । दुई वर्षअघि दुवै खुट्टा नभएका हरि मगरले मेरापिक हिमालको आरोहण गरेका थिए । कोरोना महामारीकै बीचमा पनि ठूलो संख्यामा आरोहण हुने भएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख अजित तुम्बाहाम्फेले विदेशीको आरोहणले स्थानीयमा पनि उत्साह भरिएको बताए ।

‘धेरै समयदेखि ठप्प पर्यटन व्यवसायमा अलिअलि चहलपहल बढेको छ । आरोही र पदयात्रीले मनास्लु क्षेत्र भरिएको छ,’ उनले भने, ‘यो खुसीको कुरा हो ।’ यो महिना १७ आरोहणदलबाट १३३ पुरुष र ३८ महिला गरी १७१ जना आरोहीले आरोहण अनुमति लिइसकेका छन् । नेपालका हिमालमध्ये मनास्लु चढ्नेहरू बढी छन् ।

बाढी पहिरोका कारण त्यहाँको बाटो भने जोखिमपूर्ण बनेको स्थानीय सरकारहरूले जनाएका छन् । अक्टोबर र अप्रिल महिनामा हिमाल आरोहण गर्ने चलन छ । यो वर्ष मनास्लु आरोहणबाट १ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *