व्यापारी हत्या प्रकरण : चार जना अभियुक्त सार्वजनिक

धनगढी । बैतडीको सुर्नया गाउँपालिका-४ सन्सेरीका ५५ वर्षीय मासु व्यापारी कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले सुर्नया गाउँपालिका-५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका-४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई शुक्रबार सार्वजनिक गरेको हो । प्रहरीले घटना भएकै दिन (बिहीबार) हत्या आशंकामा पक्राउ गरिएका सात जनामध्ये चार जनालाई सार्वजनिक गरेको हो ।

घटनामा अन्य तीन जनाको संलग्नता नदेखिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

सुर्नया गाउँपालिका-४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल गर्दै आएका महरा बिहीबार बिहान सन्सेरीमाडौँमै मृत फेला परेका थिए । सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका महराको टाउको, छाती र शरीरका अन्य भागमा चोट देखिन्छ ।

पक्राउ परेका चारैजना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका छन् । उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भई बैतडी जिल्ला अदालतबाट सात दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महराको शव जिल्ला अस्पतालमा पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *