के पठाओले घुमाउरो बाटोबाट धेरै भाडा लिन्छ ?

कम्पनी भन्छ- गुगल म्यापले यस्तो भयो

‘…घट्टेकुलोबाट बागदरबार जाने रुट छोटो भएन र ? थापाथलीबाट त्रिपुरेश्वरतर्फ नगएर जावलाखेल हुँदै बल्खु, कलङ्की, कालीमाटी, हुँदै गएर ७ सय डाँडे पनि भइहाल्छ नि !’ पत्रकार तथा लेखक केदार शर्माले केही दिनअघि ट्विटरमा नेपाल पठाओलाई मेन्सन गर्दै ध्यानाकर्षण गराए । पठाओले देखाएको घट्टेकुलोबाट बागदरबार जाने बाटोको नक्सा देखेपछि उनले सुझावको शैलीमा आक्रोश पोखे ।

शर्माको उक्त ट्विटमा धेरै जनाले पठाओले यसरी नै घुमाएर धेरै दूरी देखाउने र बढी शुल्क लिने गरेको अनुभव बाँडेका छन् । पुण्य भण्डारीले आफू चढ्ने रुटमा बाटो घुमाएर ३५ रुपैयाँ बढी लिने गरेको र ठगीको सीमा नै पार गरेको उल्लेख गरेका छन् ।

शर्माको ट्विटमा जवाफ दिँदै पठाओ नेपालले ट्राफिक जाम र अन्य बाह्य कारक तत्त्वहरूबाट बच्न गूगल म्यापको इन्टरफेस प्रयोग गर्ने गरेको र यात्रुले आफूलाई सहज बाटोबाट यात्रा गर्न सक्ने जवाफ दिएको छ । तर पठाओको यो जवाफ पनि सही नभएको भन्दै प्रयोगकर्ताहरूले भने चित्त बुझाएका छैनन् ।

नेपालमा पठाओ, टूटल, साहारा, ट्याक्सीमाण्डू लगायतका राइड सेयरिङ एप्लिकेसनहरू छन् । तीमध्ये सबैभन्दा धेरैले प्रयोग गर्ने पठाओबाट यसरी ठगिनुपरेको धेरै जनाको गुनासो हुने गरेको छ । केही दिनयता यो विषय सामाजिक सञ्जालमा उठ्न थालेको छ । पठाओ बुक गर्दा घुमाउरो बाटो नक्सामा देखिने‚ तर जाँदा छोटै बाटो भएर गइने भएकाले यो ठगी बन्द गर्न उपभोक्ताले ध्यानाकर्षण गराउँदै आएका छन् ।

ट्विटरमा सरोज केसीले पनि पठाओले देखाएको घुमाउरो बाटोको नक्सासहित ‘के अब हामीले पठाओ सेवा प्रयोग गर्न बन्द गर्नैपर्ने भएको हो त ? बारम्बार जानु छ छोटो बाटो‚ तिर्नु छ लामो बाटोको पैसा’ भनेर प्रश्न गरेका छन् । उनले सेयर गरेको नक्सामा अनामनगर र घट्टेकुलो क्षेत्रबाट माइतीघर, शहीदगेट चाइनाटाउन जाने धेरै छोटो बाटो भएकोमा पठाओको नक्सामा नर्भिक अस्पताल हुँदै त्रिपुरेश्वर घुमेर चाइना टाउन पुग्ने नक्सा देखाएर शुल्क निर्धारण गरेको देखिएको छ । जसमा सही थप्दै गीता चिमोरियाले पनि हैरान भएको उल्लेख गरेकी छन् ।

पठाओमा मोटरसाइकल बुक गर्दा प्रतिकिमी १७ रुपैयाँको दरले तिर्नुपर्छ भने ट्याक्सी बुक गर्दा राष्ट्रिय नापतौल विभागकै दर अर्थात् प्रतिकिलोमिटर ३९ रुपैयाँको दरले तिर्नुपर्छ । टूटलको भाडादर भने पठाओको तुलनामा केही सस्तो रहेको पाइएको छ । तर टूटलको मोबाइल एप्लिकेसन एकदमै ढिलो चल्ने र सही लोकेसन पनि नदेखाउने भएकाले धेरै मानिसले पठाओ चढ्ने गरेको चालक र उपभोक्ताहरू बताउँछन् ।

अनामनगरबाट चाइना टाउनसम्म जाने रुट टूटलमा भने सिंहदरबारबाट भद्रकाली हुँदै जाने बाटो देखाउँछ । र एकै समयमा प्रयोग गर्दा भाडा पठाओको तुलनामा १५ रुपैयाँ सस्तो रहेको पाइएको छ । सोही रुटमा पठाओको ट्याक्सीभन्दा टूटलको ट्याक्सी प्रयोग गर्दा ५३ रुपैयाँ सस्तो पाइयो । नक्सामा देखाइने दूरी नै फरक फरक भएकाले भाडा पनि कम देखिएको हो ।

तर पठाओ नेपालकी बजार प्रबन्धक सुरक्षा हमाल भने यो उठ्नुपर्ने विषय नै नभएको बताउँछिन् । पठाओले हालसम्म गूगल म्याप नै प्रयोग गरेको र ‘वान वे’ प्रयोग गर्नुपर्दा त्यस्तो देखाउन सक्ने उनको भनाइ छ । यस्तो समस्या नआओस् भन्नका लागि पठाओले आफ्नै नक्सा बनाउन लागेको समेत उनले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *