‘कस्मिक सेक्स’ बहस : के अन्तरिक्षमा यौन सम्पर्क भइसकेको हो ? 

काठमाडौँ । अहिले जर्मनीमा यौनको नयाँ बहस सुरु भएको छ । तर, त्यो सामान्य नभएर ‘कस्मिक सेक्स’को बहस हो । ‘कस्मिक सेक्स’ अर्थात् पृथ्वीभन्दा बाहिर, अन्तरिक्षमा हुने यौन । जर्मनीको सरकारी समाचार संस्था डीडब्लूले यो बहस सुरु गरेको छ ।

बहसको प्रश्न जर्मनीकै अन्तरिक्ष यात्री म्याथिस मौरेरलाई गरियो । उनलाई सोधियो, ‘के अन्तरिक्षमा हुने यौनको बारेमा पनि अन्तरिक्ष यात्राको तयारी र तालिममा छलफल हुन्छ ?’ मौरेलले भने, ‘हुँदैन । तर, शायद यो हुनुपर्ने हो ।’

६० वर्षअघि सोभियत संघका अन्तरिक्ष यात्री युरी गागरिन् सन् १९६१ अप्रिल १२ मा अन्तरिक्ष पुगेका थिए । त्यसयता अमेरिकी, सोभियत सङ्घ (हालको रुस), बेलायत तथा चीनका अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष पुगे । उनीहरू सबै सरकारी संस्थाबाट पुगे ।

तर, सन् २०२१ बाट भने अन्तरिक्ष यात्रामा निजी क्षेत्रको प्रवेश भएको छ । बेलायती अर्बपति रिचर्ड ब्रान्सनदेखि अमेजन तथा वासिङ्टन पोस्टका मालिक जेफ बेजोस आफ्नै कम्पनीबाट अन्तरिक्षमा पुगेका छन् । टेस्ला कम्पनीका मालिक एलन मक्सको कम्पनी स्पेस एक्सले हालसालै एक व्यापारिक अन्तरिक्ष मिसन पूरा गरेर निजीकरणमा नयाँ सुरुवात गरेको छ । एलन मस्कले त अबको १० वर्षमा मंगलग्रहणमा यात्रु लान सकिने बताउँदै आएका छन् ।

यहि परिप्रेक्षमा अहिले जर्मनीमा अन्तरिक्षको यौन बारेको बहस सुरु भएको हो ।

के अन्तरिक्षमा यस अगाडि नै यौन सम्पर्क भइसकेको हो ? 
अन्तरिक्षमा पृथ्वीको जस्तो गुरुत्वाकर्षण हुँदैन । एस्ट्रोजेन जस्तो ‘सेक्स हर्मन’ उत्पादन कम हुन्छ । पृथ्वीमा जस्तो सहज छैन । तर, जर्मनीको सञ्चारमाध्यम डीडब्लूले भने अन्तरिक्षमा यौन सम्पर्क गर्न गाह्रो भएपनि असम्भव नहुने बताएको छ । यसअघि पनि अन्तरिक्षमा यौन सम्पर्क भएको उसको अनुमान छ ।

पहिलो अनुमान हो‚ सन् १९९२ मा भएको नासाको अन्तरिक्ष मिसन । उक्त मिसनमा अन्तरिक्ष पुगेका थिए मार्क चाल्स ली र उनकी पत्नी जान डेभिस । एक वर्षअघि मात्रै गोप्य विवाह गरेका उनीहरूको भेट नासामै भएको थियो । सन् १९९२ को मिसनलाई उनीहरूको ‘हनिमुन मिसन’समेत भनिन्छ । मार्क र जान दुवैले अन्तरिक्षको यौनबारेमा बोलेका छैनन् । तर, उनीहरूले अन्तरिक्षमा यौन सम्पर्क गरेको डीडब्लूले अनुमान गरेको छ ।

यस्तै, अन्तरिक्षमा यौन सम्पर्क भएको हुनसक्ने अर्को अनुमान हो‚ सोभियत सङ्घको सन् १९८२ को अन्तरिक्ष मिसन । त्यो मिसनमा सेभेत्लाना साभित्काया गइकी थिइन् । दोस्रो महिला अन्तरिक्ष यात्री उनी उक्त मिसनमा उनी आफ्ना पुरुष मित्र (ब्वाइ फ्रेन्ड)सँग गएकी थिइन् । उनको आठ दिन लामो मिसनमा पक्कै यौन सम्पर्क भएको हुनसक्ने डीडब्लूको अनुमान छ ।

डीडब्लूले ‘अन्तरिक्षको यौनको बारेमा अब कुरा गरौँ’ शीर्षकमा बुधबारबाट यस्तो बहस सुरु गरेको हो । अन्तरिक्ष यात्रादेखि अन्तरिक्ष पर्यटनसम्मका कुरा आएको भन्दै डीडब्लूले बहस अनिवार्य भएको भन्दै यस्तो सामग्री प्रस्तुत गरेको हो । डीडब्लूका विज्ञान बिटका पत्रकारले यो सामग्री तयार गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *