प्रदेश २ का डिआइजीको नाममा पैसा उठाउने महिला पक्राउ

जनकपुरधाम । विभिन्न काम गराइदिने भन्दै प्रदेश २ का डिआइजीको नाममा पैसा उठाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायव महानिरीक्षक उमेश रञ्जितकारको नाममा पैसा मागेको अडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि सर्लाहीकी सुशीला थापालाई प्रहरीले पक्राउ गरेको हो ।

यसअघि थापाले डिआइजी रञ्जितकारमार्फत् प्रहरी स्कूल गरुडामा शिक्षक पदमा स्थायी गराइदिने भन्दै पर्साका उदास कुमार पाण्डेसँग पैसाको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएको थियो ।

सर्लाही लालबन्दी नगरपालिकाकी थापाले डिआइजी रञ्जितकारको नाम जोडेर आर्थिक लाभ गर्ने उद्देश्यका लागि काम गर्न खोजेकाले उनलाई पक्राउ गरी हाल रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । पक्राउ परेकी महिलाउपर कसुरअनुसारको कानूनी कारबाही हुने उनले बताए ।

शिक्षक पाण्डे र पक्राउ परेकी थापाबीचको कुराकानीले घटनामा डिआइजी रञ्जितकारलाई पनि शंकाको घेरामा तानेको छ । स्रोतका अनुसार थापा डीआईजीकै सम्पर्कमा रहेकी र सोही कारण शिक्षक पाण्डेल‍े उनीसँग आफूलाई स्थायी गराउन बार्गेनिङका लागि तयार भएका हुन् ।

प्रहरी विद्यालयमा ५ वर्षदेखि करारमा कार्यरत पाण्डेले गत चैत १६ मा शिक्षक पदपूर्तिको लिखित परीक्षामा नाम निकालेका थिए । त्यसपछि उनी अन्तर्वार्तामा सहभागी भए । प्रदेश २ प्रहरी कार्यालयका डीएसपी छेदिलाल कामती, इन्सपेक्टरद्वय सुरेश अधिकारी र राजन ढकालले अन्तर्वार्ता लिएका थिए । टेलिफोन रेकर्ड पाण्डेले नै सार्वजनिक गरेको प्रहरी अधिकारीको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *