पोखरा आएर प्रदेश २ का मुख्यमन्त्रीले भने- समाज रुपान्तरणका लागि छोरीलाई शिक्षा दिनुस्

पोखरा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोली अहिले गण्डकी सरकारको निमन्त्रणा मान्न पोखरामा छ । दुई प्रदेशबीच आपसी सहकार्यका लागि पहिलो पटक सरकारी तहबाट औपचारिक भ्रमण सुरु भएको हो । राउतको टोलीले पोखरा र आसपासका मुख्य पर्यटकीय गन्तव्यहरूको अवलोकन गर्नेछन् भने यहाँका विकास संरचनाको भ्रमण गर्नेछन् । भ्रमणमा निस्किएका राउतले गण्डकीको विकासबाट आफूले धेरै कुरा सिक्न पाएको बताए ।

उनले आफ्नो प्रदेशमा गरेका केहि महत्वपूर्ण कामबारे गण्डकी सरकारलाई ब्रिफिङ गरेका छन् । ‘सामाजिक रुपान्तरणका लागि प्रदेश २ ले धेरै काम गरेको छ । महिलालाई समानता दिन सकेनौँ भने समाजको समृद्धि र विकास सम्भव छैन । हामीले बनाएको प्रदेश निजामती सेवा ऐन, प्रदेश प्रहरी ऐनमा ५० प्रतिशत महिलालाई आरक्षण दिएका छौँ,’ उनले भने, ‘यो आफैँमा उदाहरण हो । प्रदेशभरि जन्मिएका सबै छोरीहरूलाई ३ लाखको बिमा कार्यक्रम सुरु गरेका छौँ । अन्य प्रदेशका लागि अनुकरणीय हुन सक्छ । ८ कक्षामा पढ्ने सबै छोरीहरूलाई साइकल वितरण गर्ने नीति छ । यो वर्ष करिब ३० हजार साइकल वितरण गर्ने तयारी छ ।’

उनले लोकसेवाको कक्षा सञ्चालन गर्ने र महिलालाई प्रतिस्पर्धामा सहभागी गराउन लागेको बताए । ‘समाजको रुपान्तरणका लागि महिलालाई शिक्षित बनाउने र आर्थिक पहुँच विस्तार गर्ने हो । सुशासनका लागि पनि केही प्रयास गरेका छौँ । जनलोकपाल अन्ना हजारेले सुरु गरेको अभियानलाई पछ्याएका छौँ,’ उनले भने, ‘नेपाल कुशासन र भ्रष्टाचारले गाँजिएको छ । लामो भाषण गर्ने‚ तर व्यवहारमा राम्रो छैन । अख्तियारसँग मिलेर त्यो काम गर्न लागेका छौँ ।’

राउतले पछाडि पारिएका वर्गलाई विशेष व्यवस्था गरेर मूलधारमा ल्याउने कार्यक्रम सञ्चालन गरिरहेको सुनाए । ‘पहिलो प्रदेश हो, जहाँ दलितको सशक्तीकरणका लागि छुट्टै ऐन ल्याएको छ । दलितहरू बढी उत्पीडनमा छन् । भेदभावसहितको दमन छ,’ उनी अघि भन्छन्, ‘त्यो समाजलाई कसरी उठाउन सकिन्छ भनेर ती समुदायलाई दिक्षित बनाउन लागेका छौँ । मुस्लिम र अन्य पछि परेका समुदायलाई पनि आरक्षणको व्यवस्था गरेका छौँ ।’

उनले गण्डकीको प्रकृति र २ नम्बर प्रदेशको संस्कृतिलाई जोडेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए । ‘भारतीय पर्यटकहरूसँग जोड्न सके यसको अरु विकास र आकर्षण बढ्छ । भारतीय पर्यटक हिन्दूहरूको आस्थाको केन्द्र जनकपुर आउँदा त्यहाँबाट पोखरा ल्याउने एक्सेस तयार गर्नुपर्छ । जनकपुर पोखरा हवाईमार्गबाट जोडे पर्यटनले फड्को मार्छ,’ राउत भन्छन्, ‘पर्यटनमात्रै होइन, हामीबीच उत्कृष्ट प्रयोगको आदानप्रदान पनि हुनुपर्छ । त्यहाँ भएका केही राम्रा काम यता ल्याउन सकिन्छ । यहाँ भएका राम्रा कामको उदाहरण उता लैजान सकिन्छ ।’

संघीयता कार्यान्वयनका बेला आफूहरुले धेरै दुःख व्यहोर्नुपरेको राउतको अनुभव छ । ‘संघीयता कार्यान्वयनमा अहिलेसम्म संघले सकारात्मक धारणा छैन । भएका संवैधानिक व्यवस्थालाई पनि कमजोर पार्ने प्रयास गरिएको छ । यसरी उत्कृष्ट नमूनाको प्रयोग गर्न सके एकात्मक शासन प्रणालीमा रहेका त्रुटीहरू हटेर जान्छन्,’ अघि भने, ‘नेपाल अहिलेसम्म किन विकास हुन सकेन ? प्राकृतिक स्रोत साधनले भरिएको देश, विभिन्न कारणले पर्यटकको केन्द्र बन्न सकेको छैन । यसको प्रमुख कारण नै केन्द्रीकृत मानसिकता हो । हामी आफ्नो तरिकाले त्यो चिर्न लागौँ ।’ राउत शुक्रबार फर्किनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *