कुलमानको प्रस्ताव – विद्युत् खरिद सम्झौतामा पनि प्रतिस्पर्धा गरौँ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खरिद सम्झौता (पीपीए) मा पनि प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । विद्युत्सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा उनले पीपीएमा प्रतिस्पर्धा हुने गरी कानुनी व्यवस्था राख्नुपर्ने बताएका हुन् ।

हाल पीपीएमा प्रतिस्पर्धा हुँदैन । पीपीएमा प्रतिस्पर्धा हुने व्यवस्था प्रस्तावित विधेयकमा पनि छैन । विद्युत् उत्पादकले लाइसेन्स लिने क्रममा प्रतिपर्धा हुन्छ तर पीपीएमा ‘फिक्स्ड प्राइस’ हुने व्यवस्था छ । पीपीएमा प्रतिस्पर्धा नहुँदा सस्तोमा उत्पादन भएको विद्युत् पनि महँगोमा खरिद गर्नुपरेको र राम्रा परियोजना अगाडि बढाउन नसकिएको भन्दै घिसिङले पीपीएमा प्रतिस्पर्धा गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

‘पीपीएमा पनि प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मेरो धारणा छ । पीपीए प्रतिस्पर्धा हुँदा सस्तोमा योजनाहरू बन्ने सम्भावना हुन्छ,’ उनले भने, ’यसअघि पनि पीपीएमा प्रतिस्पर्धा गराउन खोज्दा माथि लाइसेन्स लिँदा नै प्रतिस्पर्धा हुने कानुनी प्रावधानले समेट्ने भनियो । अहिले आएको विधेयकमा पनि यही मनसाय छ । तर समितिलाई मेरो आग्रह– पीपीएमा प्रतिस्पर्धा नगर्दा हुने असरलाई ख्याल गरियोस् ।’

अहिले पीपीएमा प्रतियुनिट विद्युत्को न्यूनतम मूल्य ४ रुपैयाँ ८० पैसा र अधिकतम मूल्य ८ रुपैयाँ ४० पैसा रहेको छ । प्रतिस्पर्धामा जाँदा ४ रुपैयाँ ८० पैसाभन्दा सस्तोमा पनि विद्यत् उत्पादन हुने वातावरण बन्ने र उपभोक्ताले सस्तोमा विद्युत् उपभोग गर्न पाउने घिसिङको भनाइ थियो । भारतमा पनि यस्तो व्यवस्था रहेकाले सस्तोमा विद्युत् उत्पादन र वितरण भइरहेको उनले बताए ।

‘भारतमा पहिले कम्पनी छनोट हुन्छ । पीपीएमा पनि प्रतिस्पर्धा हुन्छ । आयोजना अगाडि बढाउन र पीपीएमा प्रतिस्पर्धा गर्न सकिएन भने त्यो सम्झौता खारेज हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *