कुकुर पाल्नुभएको छ ? नागरिकता र सय रुपैयाँ लिएर वडामा जानुस्

पोखरा । अहिले देशमा जनगणनाको काम धमाधम चलिरहेको छ । घरघरमै पुगेर विभिन्न विवरणहरू भर्ने काम भइरहेको छ । यो विवरणमा पशु चौपायाको विवरण त भरिइन्छ‚ तर कुकुरबाहेक ।

पोखरामा कुकुर दर्ता गर्न घरधनीलाई आग्रह गरेको छ । महानगरभित्र पालिएका कुकुरको संख्या र विवरण अद्यावधिक गर्न वडा वडामा तथ्याङ्क सङ्कलन गर्न लागिएको पोखरा महानगरपालिकाले जनाएको छ ।

मङ्गलबार वडा नम्बर ८ को कार्यालयले कुकुर दर्ता गर्न वडामा आउन सूचना जारी गरेको छ । ‘यस वडाभित्र पालिएका कुकुरको दर्ता तथा रेबिज खोप लगाउने शिविर सञ्चालन हुने भएकाले वडामा रहेको सम्पूर्ण कुकुर धनीहरूले दर्ता गराउनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ । कार्यक्रमको सुरुवात नै पोखरा ८ बाट गर्न लागिएको महानगरले जनाएको छ ।

कुकुर दर्ता गर्न कुकुर धनीको नागरिकताको फोटोकपी अनिवार्य छ । यस्तै, पहिले रेबिज लगाएको भए खोप कार्ड तथा दर्ता शुल्क एक सय रुपैयाँ तिर्नुपर्छ । पोखराले सामुदायिक कुकुर नियन्त्रणका लागि भ्यासेक्टोमी अभियान चलाएको छ । हालसम्म यहाँका ७० प्रतिशत सामुदायिक (छाडा छोडिएका) कुकुरको भ्यासेक्टोमी गरिसकिएको छ ।

हिमालयन एनिमल रेस्क्यू ट्रस्ट (हार्ट) नेपालका अनुसार पोखरामा ४ हजार हाराहारी सामुदायिक कुकुर छन् । ‘हामी सडक सामुदायिक कुकुरमा काम गर्छौँ । हाम्रा लागि सधैँ रेबिज दिवसजस्तै हुन्छ,’ सञ्चालक खगेश्वर भट्टराईले भने, ‘अहिले सडकमा सामुदायिक कुकुर पहिलेजस्तो छ्यापछ्याप्ति भेटिँदैनन्, धेरै घटिसके ।’ अन्य सरकारी निकायले भने घरपालुवा कुकुरमा जोड दिएको छ ।

पोखराका प्रमुख सहरी क्षेत्रमा २५ सय हाराहारी मात्रै सामुदायिक कुकुर छन् भने अरू वडामा पुरै तथ्याङ्क सङ्कलन भएको छैन । ‘कुनै टोलमा जानुभयो भने कुकुर त छन् । तर छाउरा-छाउरी खासै छैनन् । सङ्ख्या घटेको छ,’ उनले भने । बन्ध्याकरण गरिएका कुकुरको संकेतस्वरुप देब्रेपट्टी कानमा यू आकारमा चिर्ने गरिएको छ ।

यो वर्ष चितवनमा पनि कार्यक्रम गर्न लागिएको छ । निकुञ्जका मृगलाई कुकुरले आक्रमण गर्न थालेपछि हार्टले त्यस्ता कुकुरमाथि निगरानी बढाउन लागेको भट्टराईले जानकारी दिए । पोखरामा पहिले झैँ ठुलो समस्याको रूपमा नरहेपनि सडक सामुदायिक कुकुरको बिगबिगी भने कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *