जनमत संग्रहमा जाऔँ, कसले जित्छ हेरौँला : विप्लव

पोखरा । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनमत संग्रहमा आउन संसदबादी दलहरूलाई चुनौती दिएका छन् । संसदीय व्यवस्थाले बाटो विराएको भन्दै उनले जनमत संग्रह मार्फत समाजवादी व्यवस्था ल्याउनुपर्ने दोहोर्याएका हुन् ।

‘हामी देशको भविष्य बोकेर हिडेका हौं । खुट्टा कमाउँदैनौं । केही साथीहरुले तपाईंहरु जित्नुहुन्छ ? भनेर प्रश्नु गर्नुभएको छ । नेपालमा जनमत संग्रह सुनिश्चित गरौं, हामी जित्छौं । एकप्रतिशत पनि नघटाएर भन्छु, हामी जित्छौं । नेपाली जनताको चाहना हो,’ उनले भने ।

अहिलेको संसदीय व्यवस्था असफल भैसकेको उनको भनाइ छ । ‘यो व्यवस्था चलेन नि त । हामीले त ७३ सालमै भनेको हो,’ उनले भने, ‘त्यतिबेला कसैले सुनेन । तर राज्य चलेन, सरकार चलेन, नेताहरु चलेनन्, पार्टी चलेन ।’ नेपाल विदेशीको इशारामा चलेको उनको भनाई छ । ‘सत्ताबाट राज्य चलेको छैन । ‘मालिक घरि डलर बोकेर आउँछ । घरि डण्डा बोकेर आउँछ । घरि मालिक बन्दुक बोकेर आउँछ,’ उनी भने, ‘हाम्रा पार्टीका नेता भनिनेहरू उनीहरुका अगाडी कान समातेर उठबस गर्छन् ।’

विप्लवले आफुहरू सरकारसँग गरेको तीनबुँदे सहमतिमा इमान्दार भएपनि सरकारले जालझेल गर्न लागेको आरोप लगाए । ‘त्यसमा हामी सहमत छौं, लागू गर्छौं । शान्तिपूर्ण विचार राख्न जनताकोमा जान्छौं । तर त्यो लागू नगरेर अर्को शर्त थुपारिन्छ अनि हाम्रो जेलका साथीहरु छोड्न घेरा हाल्न खोजिन्छ भने त्यो घेरा तोडिदिन्छौं,’ उनले आक्रोश पोखे ।

एमसीसी कुनै हालतमा पास हुन नदिने उनको चेतावनी छ । ‘नेपालको भाँडभैलोमा अमेरिकाले ठूलो फाईदा उठाउन चाहन्छ । देश र पार्टीहरुलाई कमजोर बनाएर लुट्ने साम्राज्यबादीहरुको नीति हो,’ विप्लव अघि भन्छन्, ‘एमसीसीको नाममा डलर बोकेर आउँदैछन् । योसँगै भित्रबाट अमेरिकन साम्राज्यबादका दाह्रानंग्रा यहाँ घुस्दैछन् । यो कुरा राम्रोसँग बुझाउनुपर्छ ।’ यसअघिका सम्झौताहरु राष्ट्रको हित विपरित सिद्ध भएको भन्दै उनले त्यसबाट पाठ सिकेर एमसीसी फर्काउन सरकारसँग आग्रह गरे ।

पोखरामा नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन बुधबारबाट सुरु भएको छ । सम्मेलनले नयाँ नेतृत्व छनोट गर्नेछ भने नयाँ शिक्षा प्रणालीको प्रस्ताव तयार गर्ने नेकपाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *