यतीको पर्वतीय उडान असोज १० गतेबाट पुन: सुचारु

काठमाडौँ । दोस्रो लकडाउनपछि रोकिएको यती एअरलाईन्सको पर्वतीय उडान असोज १० गतेदेखि पुनः सुचारु हुने भएको छ ।

मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर-मार्च महिना उपयुक्त मानिने भएकाले उडान सुचारु गर्न लागिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । हालका लागि प्रत्येक आइतबार एक उडान गर्नेगरी बुकिङ खुल्ला गरिएको हो ।

प्रत्येक आइतबारका लागि एटीआर-७२ विमानमार्फत् एउटा पर्वतीय उडान हुने गरी तालिका तय गरिएको र यात्रुहरूको मागबमोजिम बिस्तारै उडान संख्या थप गर्दै जाने नीति लिएको उनले जानकारी दिए ।

हालका लागि नेपाली तथा भारतीय नागरिकका लागि सगरमाथाको उचाई बराबरको ८,८४८र आकर्षक भाडादरमा पर्वतीय उडानको टिकट खरिद गर्न पाइने पनि जनाए ।

आवासीय विदेशी नागरिकका लागि भने १३ हजार दुई सय ७५ भाडादर कायम गरिएको बर्तौलाले जानकारी दिए ।

पहिलो लकडाउनपछि खुलेको पर्वतीय उडानमा पनि यतीले यहि भाडादरमा उडान भरेको थियो । नेपाली यात्रुहरू तथा आवासीय विदेशी नागरिकका लागि छुट्टाछुट्टै प्यागेज ल्याएको यतीले २ वटा टिकटका लागि क्रमशः ९ हजार ८ सय ४८ र १४ हजार ७७५ भाडादर तोकेको छ ।

यो टिकट खरिद गर्दा भने यात्रुहरुले एउटा झ्याल भएको र अर्कोसँगैको झ्याल नभएको सिट प्राप्त गर्नेछन् । पर्वतीय उडानका टिकटहरू नजिकको ट्राभल एजेन्सी, यतीको मोबाइल एप्स र अनलाइनमार्फत खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *