रेलको खेल : भित्र झेलैझेल

जनकपुरधाम । ३५ किलोमिटर दूरीको जयनगर-जनकपुर-कुर्था चल्ने रेल नेपाल भित्र्याएको झण्डै एक वर्षभन्दा बढी बितिसकेको छ । गत वर्ष २०७७ को असोज २ मा भारतबाट दुईवटा रेल नेपाल ल्याइए पनि सञ्चालनको सुरसार भने अझै हुन सकेको छैन ।

जयनगर-जनकपुर-कुर्थासम्म रेल्वेको ब्रोडगेज लिक, स्टेसन निर्माणलगायतको काम सकिएको दुई वर्षभन्दा बढी भयो । तर व्यवस्थापकीय कमीकमजोरीका कारण रेल सञ्चालन हुन सकेको छैन ।  रेल नेपाल भित्रिँदा रेल चल्ने क्षेत्रमा मात्र होइन‚ देशैभरि खुसीयाली छाएको थियो ।

तर त्यो खुसीयाली लामो समय टिक्न सकेन । अब त रेल छोपिएको पालसमेत च्यातिएको छ । तर सरकारलाई भने रेल चलाउन कुनै हतारो देखिँदैन ।

धनुषाको इनरुवा स्टेसनमा सशस्त्र प्रहरीको बेस क्याम्पअगाडि सुरक्षाका लागि भनेर पाल ओढाएर राखिएका दुवै रेल अहिले करिब-करिब अलपत्रजस्तै अवस्थामा पुगेका छन् । रेल विभागका अनुसार स्पष्ट कानुनको अभाव र कर्मचारी भर्ना प्रक्रियामा देखिएको जटिलताका कारण रेल सञ्चालन प्रक्रिया अनिश्चित बन्न पुगेको हो ।

भारतको कोंकण रेल्वे कर्पोरेसन लिमिटेडसँग नेपाल सरकारले गत वर्ष ८४ करोड ६५ लाख रुपैयाँ तिरेर रेल निर्माण गर्न लगाएको थियो । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग सञ्चालनका लागि गत वर्षको असोज २ मा दुई सेट ‘डेमो ट्रेन’ नेपाल आएको थियो । सो रेलमा एक हजार दुई सयदेखि एक हजार तीन सयसम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ ।

विभागका अनुसार यात्रुवाहक रेल भएकाले रेलमा यात्रुको झोला र सामान्य सामानमात्रै राख्न सकिन्छ । रेल्वेका नवनियुक्त महाप्रबन्धक निरञ्जन झाले भारत सरकारले हालसम्म रेल्वेको सम्पूर्ण संरचना हस्तान्तरण गरिनसकेकाले रेल चलाउन ढिलाइ भएको बताए । रेल सञ्चालनका तयारी भएपनि कर्मचारी अभाव, स्पष्ट कानुनको अभाव, संरचना हस्तान्तरणमा ढिलाइ हुँदा रेल सञ्चालन नभएको झाले बताए । यद्यपि अब छिट्टै रेल सञ्चालन हुने उनको दाबी ।

रेल सञ्चालनका निम्ति करिब दुई वर्ष अगाडि नै निर्माण कार्य सम्पन्न भइसके पनि व्यवस्थापकीय कमीकमजोरीका कारण हालसम्म रेल चल्न नसकेको रेल्वेका इन्जिनियर बिनोद ओझा बताउँछन् ।  नेपाल सरकारको स्वामित्व भएको रेल गत वर्ष भारतको हाजिपुरबाट जयनगर हुँदै जनकपुरस्थित कुर्था रेल्वे स्टेसनसम्म पुर्‍याइएको थियो ।

तर रेल आएको वर्षदिन बितिसक्दा पनि रेल चल्ने सुरसार भने अझै देखिँदैन । रेल भित्र्याइएको समयमा एक महिनाभित्रै कर्मचारी भर्ना प्रक्रिया पूरा गरी रेल चलाउने भनिए पनि कर्मचारी भर्ना प्रक्रिया जटिल बन्दै गएपछि रेल सञ्चालन अनिश्चित बनेको हो ।

रेलमा खिया लाग्न थाल्यो
सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतीय कम्पनीबाट खरिद गरेको दुई सेट रेल सञ्चालनमा नआउँदा अहिले धनुषाको इनरुवा स्टेसनमा सशस्त्र बेस क्याम्प अगाडि थन्काइएको छ ।

सुरु-सुरुमा रेललाई त्रिपालले छोपेर राखिए पनि अहिले त्रिपालसमेत च्यातिइसकेको छ । खुल्ला आकाशमुनि थन्काइएको रेलमा खियासमेत लाग्न थालेको छ । रेलको सुरक्षामा सशस्त्र प्रहरी खटाइएको छ । रेलमा खिया लाग्न थालेपछि सञ्चालन कहिलेदेखि हुने कुराको टुङ्गो नलाग्दा उत्साहित यस भेगका नागरिकहरू निराश बनेका छन् ।

रेल्वे ट्याकका हजारौँ क्लिपहरू पनि चोरी भइसकेको छ । रेल्वे स्टेसन भवनका झ्यालका सिसाहरू समेत अहिले फुटिसकेका छन् । जनकपुरमा अवस्थित स्टेसनको नयाँ भवन पनि अहिलेदेखि नै चुहिन थालेको छ ।

रेलको लिक बालबालिकाहरूको खेल्ने ठाउँ
जयनगर-जनकपुर-कुर्था रेल सञ्चालनमा नआउँदा लिक क्षेत्र अहिले बालबालिकाहरूको खेल्ने ठाउँ बनेको छ । बालबालिका दिनभरि अहिले लिकमै खेलेर रमाइलो गरेको भेटिन्छन् । जनकपुरदेखि जयनगरसम्मको बिचमा एक दर्जन भन्दा बढी गाउँ छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *