राष्ट्रियसभामा बजेट पेश, भदौ ३१ देखिकै खर्चले वैधता पाउने !

काठमाडौँ । राष्ट्रियसभामा विनियोजन विधेयक (बजेट) पेश भएको छ । सोमबार प्रतिनिधिसभाले पारित गरेर पठाएको विनियोजन विधेयक मंगलबार राष्ट्रियसभामा पेश भएको हो ।

एमालेको अवरोधका बीच राष्ट्रियसभाले विनियोजन विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

अब राष्ट्रियसभा सदस्यले ७२ घण्टाभित्र विनियोजन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्नेछन् । र सांसदहरूको संशेधनसहित मन्त्रालयत रुपमा छलफल गरेर पारित गरेपछि पुनः प्रतिनिधिसभा र सभामुख हुँदै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पुग्नेछ । त्यसपछि बजेट कार्यान्वयनमा जानेछ ।

राष्ट्रियसभा अध्यक्षले विनियोजन विधेयकमाथि दफावार छलफल समूहीकृत हुने र दफावार छलफल यहि असोज ७ गते दिउँसो २ बजे बस्ने बैठकमा गरी समय तोकेको घोषणा गरेका छन् ।

भदौ ३१ गतेदेखिकै खर्चले वैधता पाउने
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको विनियोजन विधेयकमा, विधेयक भदौ ३१ गतेदेखि लागू हुने उल्लेख छ । यहि व्यवस्थासहितको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव रााष्ट्रियसभाबाट समेत स्वीकृत भएको हो । राष्ट्रियसभाबाट जस्ताको तस्तै पारित भए भदौ ३१ गतेदेखिकै खर्चले वैधता पाउनेछ ।

बजेट समयमा संसदबाट पारित नहुँदा अहिले मुलुक बजेट शून्यताको अवस्थामा छ । यो समयमा भएको खर्चले कानूनी वैधता कसरी पाउँछ भन्ने चासोका बीच विधेयकमा भदौ ३१ गतेदेखिकै खर्चले वैधता पाउनेगरी भूतप्रभावी व्यवस्था राखिएको हो ।

अघिल्लो सरकारले ल्याएको अध्यादेश भदौ ३० गतेबाट निष्क्रिय भएको छ । प्रतिस्थापन विधेयक पारित भएपछि भदौ ३१ गतेबाट लागू भएको मानिने गरी बजेट पारित गर्न लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *