सरकारको विकास खित्का छाडेर हासौँ कि ताली पड्काएर नाचौँजस्तो : बाँस्कोटा

पोखरा । नेकपा एमाले नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारको कामप्रति व्यङ्ग्य गरेका छन् । मंगलबार पोखरामा प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाटको क्रममा नेता बाँस्कोटाले सरकारले गरेको विकासले खित्का छाडेर हासौँ कि ताली पड्काएर नाचौँजस्तो भएको भन्दै व्यङ्ग्य गरेका हुन् ।

‘सरकारले गज्जब काम गरेको छ‚ होइन त ? विकासले उधुम भइसक्यो, खित्का छाडेर हासौँ जस्तो । ताली पड्काएर नाचौँ जस्तो,’ उनले भने, ‘केपी ओली सरकारले केही गरेन भनेको होइन ? अहिलेको सरकारले त १४१० वटा बाटोको योजना काटिदियो । अझै अरु के के काट्न बाँकी छ ।’

यसका साथै उनले एमसीसीको विवाद माओवादी अध्यक्ष प्रचण्डले गिजोलेको आरोप लगाएका छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले नै एमसीसी अघि बढाएको भन्दै उनले एमालेलाई पास फेलको अधिकार नभएको बताए ।

‘एमसीसीको सम्झौता देउवा र प्रचण्डले गरेका हुन् । गिजोलेको कसले ? प्रचण्डले । त्योचाहिँ प्रचण्डले मात्रै है । अरूले गिजोलेको होइन,’ उनले भने, ‘पदमा हुँदा एउटा कुरा गरेको छ, बाहिर निस्किँदा अर्को कुरा गरेको छ । मजाकको विषय हो, विदेश सम्बन्ध ? हामीले त संसदमा पेश गर्ने भनेको हो । रोक्ने को ? सभामुख होइन ? कृष्ण महराजीले पनि पेन्डिङमा हाल्दिनुभो । अग्नी सापकोटाले पनि घर्राभित्र हालेर राखिदिनुभो ।’

अहिलेको सरकारसँग दुई तिहाई नजिकको मत भएकाले अगाडि बढाउन उनले सुझाव दिए । ‘झण्डै दुई तिहाईको सरकार छ । पास गरे भइहाल्यो नि । एमालेसँग सहयोग चाहियो भनेको पनि छैन,’ बाँस्कोटा भन्छन्, ‘यसमा एमालेको स्पष्ट धारणा छ । चीनसँग सम्झौता गर्दा साम्यवाद आउने, अमेरिकासँग गर्दा साम्राज्यवाद बाजा बजाएर आउने र भारतसँग गर्दा विस्तारवाद आउने होइन । कुनै पनि देशसित हामी पूँजी र प्रविधि सहयोग लिन्छौँ ।’

भारतीय एसएसबीले तुईन काटेर जयसिंह धामीको मृत्यु भएको भन्दै उनले सरकारले त्यसको छानबिन नगरेको बताए । भारतलाई कुटनीतिक नोट पठायौँ भनेको छ । के पठायो ? मिडियाले थाहा पाउनु पर्दैन ?,’ उनले भने, ‘जयसिंह धामीको प्रेतात्मा महाकालीको किनारमा भड्किरहेको छ । शान्ति पाएको छैन । जवाफ देउवा सरकारले दिनुपर्दैन ? यो लम्पसार राष्ट्रवादको उत्कृष्ट नमूना होइन ?’

बाँस्कोटाले नयाँ सरकार गठनपछि धेरै विकासको अपेक्षा गरेका नागरिकलाई ढाडस नदिएकोमा विरोध जनाए । माओवादीले यसअघि कमाएको अवैध सम्पत्तिलाई सरकारले ल्याएको प्रतिस्थापन विधेयकले वैध बनाउने उनको आरोप छ । बाँस्कोटाले पत्रकारिताको घाँटी थिच्ने गरी आएका कुनै पनि विधेयक स्वीकार नगर्ने र त्यसको प्रतिवाद गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *