सम्पत्ति शुद्धीकरणलाई प्रश्रय दिन खोजेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनलको आपत्ती

काठमाडौँ । सम्पत्ति शुद्धीकरणलाई प्रश्रय दिने कानुनी प्रस्तावप्रति ट्रान्सपरेन्सी इन्टरनेशनलले आपत्ती जनाएको छ । अर्थमन्त्रीले संसद्मा पेश गरेको आर्थिक आयकर ऐन, २०५८ संशोधन प्रस्तावमा विभिन्न पूर्वाधारका क्षेत्रमा लगानी गर्दा ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने व्यवस्था प्रस्ताव गरिएकोप्रति ट्रान्सपरेन्सीले आपत्ती जनाएको हो । अवैध धन वैधानिक बनाउने भित्री उद्देश्य लिएर सरकारले यस्तो व्यवस्था ल्याएको एक विज्ञप्ती जारी गरेर उसले दाबी गरेको छ ।

‘गैरकानुनी रुपमा मुलुकभित्र वा बाहिर उच्च राजनीतिक, प्रशासनिक र व्यावसायिक व्यक्तिहरुबाट भ्रष्टाचार वा कर छली गरी लुकाइएको कालो धन वैध बनाउन सहयोग पुर्याउने यो प्रस्ताव स्वीकृत भएमा यसले भ्रष्टाचारलाई प्रश्रय दिने, कर छली बढाउने, नियमित करदातालाई निरास बनाउने, कालो सम्पत्ति शुद्धीकरण तथा निर्मलीकरण हुन जाने र नितिगत भ्रष्टाचारको नमुना हुने निश्चित छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यो कार्य नेपालको संविधानको भावना, अन्य कानुन र भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय प्रतिवद्धताको विपरीत पनि हुन जान्छ ।’

उक्त प्रस्तावले नवगठीत सरकारको भष्ट्राचारविरुद्धको प्रतिवद्धताको खिल्ली उडाएको समेत जनाएको छ ।

‘नव गठित सरकारसँग जनमानसले भ्रष्टाचार नियन्त्रण र कालोधनविरुद्ध सशक्त कारवाहीको अपेक्षा गरेको बेला केही निहित स्वार्थ समूहलाई हित हुने गरी ल्याइएको यो प्रस्तावले देउवा सरकारको साझा कार्यक्रमको भ्रष्टाचार विरोधी प्रतिवद्धताको खिल्ली उडाएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यस्तो प्रस्ताव तुरुन्त फिर्ता लिन सरकारका प्रमुख दल र तिनका साझेदार राजनीतिक दलहरुलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जोडदार माग गर्दछ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *