गन्तव्य खुल्यो, निस्किन थाले पर्यटक

पोखरा । दैनिक ७ जनाभन्दा कम पर्यटकले अन्नपूर्ण घुम्ने इजाजत लिन्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत ५ वटा जिल्लामा पदयात्रा पर्यटकका लागि पूर्ण रूपमा खुला गरिएको हो ।

‘लकडाउन खुलेपछि ३० भन्दा बढी विदेशी पर्यटक जोमसोममा इन्ट्रि भएका छन्,’ एक्यापका अधिकृत ऋषि बरालले भने, ‘अहिले दैनिक फाट्टफुट्ट पर्यटक देखिन थालेका छन् ।’ उनका अनुसार धवलागिरि आईसफल जानका लागि १६ जनाको टोलीले प्रवेश पाएको छ ।

दुई टिममा १० जनाको टोली उपर मुस्ताङतिर लागेका छन् । केही थोरङ पास गर्नेहरू पनि रहेको उनले जानकारी दिए । ‘पीसीआर भएका पर्यटकलाई अब कतैपनि रोकटोक छैन । तर पीसीआर अनिवार्य छ,’ उनले भने, ‘अस्ट्रेलिया, स्पेन, चीन लगायत देशका पर्यटक आएका छन् । उनीहरू लकडाउनमा अड्किएका होइनन् । घुम्नकै लागि लकडाउनपछि नेपाल आएका हुन् ।’

तर मुक्तिनाथ मन्दिर भने अझै खुलेको छैन । त्यस क्षेत्रमा कोभिडको नराम्रो असर पर्‍यो । ५ जनाको कोभिडका कारण मृत्यु भयो । केही सिकिस्त बिरामी भए । उनीहरूलाई हेलिकोप्टर मार्फत पोखरा र काठमाडौँ लगियो । स्थानीयहरूले पीडितलाई धार्मिक क्षेत्र विकास समितिले राहत दिनुपर्ने माग राखेका छन् । समितिले राहत नदिँदासम्म मन्दिर खुल्ने सम्भावना नरहेको बरालले बताए ।

केही पर्यटकहरू लमजुङबाट मनाङ हुँदै मुस्ताङ निस्किनका लागि परमिट लिएका छन् । केही चाहिँ मर्दी हिमाल ट्रेकतिर लागेका छन् । ‘पर्यटकहरू आउन थालेका छन् । आन्तरिक पनि आइरहेका छन् । तर विदेशी पर्यटक देखिएका छन्,’ स्थानीय पर्यटन अगुवा सुदीप गौतमले भने, ‘धेरै पछि होटल खोल्न पाइयो । लकडाउन थपिएन भने अब निर्धक्कसँग आउँछन् ।’

अन्नपूर्ण बेसक्याम्प तिर पनि पर्यटकहरू निस्किन थालेका छन् । असोज १ गतेदेखि बेसक्याम्प खुला गरिएको छ । मंगलबारदेखि एक्याप क्षेत्रका सबै होटलहरु खुला गर्ने निर्णय भएको छ । एक्याप मात्रै होइन, गण्डकीको अर्को संरक्षण आयोजना मनास्लुमा भने पर्यटकको भीड नै लागेको छ ।

मनास्लु हिमाल आरोहणका लागि धेरै देशका पर्यटकले अनुमति लिएका छन् । तेस्रो क्याम्पसम्म बाटो निर्माण गरिसकेकाले यही सातादेखि आरोहण शुरु हुने कम्पनीहरूले जनाएका छन् । यो महिना १७ आरोहणदलबाट १३३ पुरुष र ३८ महिला गरी १७१ जना आरोहीले आरोहण अनुमति लिइसकेका छन् ।

अझै बढ्न सक्ने मनास्लु संरक्षण क्षेत्र आयोजनाका कार्यकारी निर्देशक अजित तुम्बाहाम्फेले बताए । उनका अनुसार पदयात्राका लागि पनि केही पर्यटकले अनुमति लिएका छन् । पोखराका होटल रेष्टुरेण्टहरु अधिकांश खुलेका छन् । फेवाताल, पाताले छाँगो लगायत पर्यटकीय क्षेत्रहरूमा पर्यटकको सामान्य चहलपहल सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *