आजदेखि दसैँका लागि नयाँ नोट वितरण, कहाँबाट लिने ?

काठमाडौँ । नेपालीको महत्त्वपूर्ण चाडको रूपमा रहेको दसैँलाई मध्यनजर गरेर बैङ्क तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दसैँमा नयाँ नोटको विशेष महत्त्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

केन्द्रीय बैङ्कको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र आजदेखि इजाजत प्राप्त वाणिज्य बैङ्कका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ । वाणिज्य बैङ्कले तोकेको नजिकको शाखा कार्यालयमा गई नोट सटही गर्न सकिने केन्द्रीय बैङ्कको सूचनामा उल्लेख छ ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कता अपनाइ नोट सटही गर्न राष्ट्र बैङ्कले आग्रह गरेको छ । काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैङ्कले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ ।

नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पालना गर्न अनुरोध गरिएको छ । केन्द्रीय बैङ्कले रु १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । कूल रूपमा केन्द्रीय बैङ्कले रु ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ ।

नयाँ नोट लिनका लागि सर्वसाधारणले केन्द्रीय बैङ्कको कार्यालयमा लामो लाइन लाग्ने गरेको यर्थाथलाई आत्मसात् गर्दै २७ वटै वाणिज्य बैङ्क र तिनका शाखा कार्यालय मार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *