गण्डकीले मनायो संविधान दिवस

पोखरा । गण्डकी प्रदेशले सातौँ संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । शनिबार जिल्ला जिल्लामा दीप प्रज्वलन भयो भने आइतबार प्रदेश सरकारले विशेष समारोह गरेको हो । राजनीतिक स्वार्थहरुलाई बिर्सेर सक्दो छिटो सामाजिक रुपान्तरणको प्रक्रिया अबलम्बन गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सुझाव दिए ।

‘संविधानले सामन्ती, निरंकुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको छ । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ,’ उनले भने, ‘संविधानअन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहीत भएको छ र जनता राज्यशक्तिको मालिक भएका छन् ।’

उनले संविधानबमोजिम संघ, प्रदेश र स्थानीयहरुले आ-आफ्नो संवैधानिक कार्यभार पूरा गर्न क्रियाशील रहेको भन्दै अझै संविधानको मर्मअनुसार विकेन्द्रीकरण प्राप्त गर्न नसकेको बताए । ‘जुन कुराको अपेक्षा आम प्रदेशबासीले प्रदेश सरकारबाट गरिरहेका छन्, ती अपेक्षा पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको इमान्दार सहकार्य आवश्यक छ,’ गुरुङले भने, ‘सरकारले जनतालाई उत्साह हुने गरि काम गर्न सक्नुपर्छ ।’

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उपलब्धिको रक्षा गर्न सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । ‘संविधान निर्माणका लागि धेरै ठूलो संघर्ष भएको छ । ती उपलब्धी रक्षा गर्नु आजको आवश्यकता हो,’ उनले भने, ‘सरकार एक्लैले त्यो दायित्व पूरा गर्न सक्दैन । सबैको उत्तिकै महत्व छ ।’

सभामुख नेत्रनाथ अधिकारीले सामन्ती, एकात्मक शासन व्यवस्था अन्त्य भए पनि त्यसका अवशेषहरू बाँकी नै रहेको बताए । संघले आवश्यक कानून नबनाइदिएकाले अझै पनि प्रदेशमा कतिपय कानून बनाउन नपाइएको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *