गोरखाको गाउँ : जहाँ, एक महिनाअगावै मनाइन्छ दशैं

पोखरा । यो वर्ष असोज २१ गते घटस्थापना छ । पञ्चाङ्गअनुसार असोज शुक्ल प्रतिपदादेखि १५ दिन दशैं मनाउने चलन छ । तर गोरखाका केही गाउँमा भदौ शुक्ल प्रतिपदाकै दिनदेखि दशैं सुरू हुन्छ । सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाका केही गाउँहरुमा बिहीबार दशैंको टिका लगाइयो । पर्व सुधार गर्नुपर्ने र अहिलेको पात्रो नमिलेको भन्दै उनीहरुले सामान्य समयभन्दा १ महिनाअघि नै दशैं मनाएका हुन् ।
विगत ९ वर्षदेखि गोरखामा विजया दशमी आउनुभन्दा एक महिनाअघि नै दशैं मनाउन थालेका हुन् ।

खगोल विज्ञानकाअनुसार प्रत्येक दिन साढे ३ सेकेण्ड समय घट्दै जान्छ । यो अवस्था निरन्तर रहिरहे ७२ वर्षमा १ दिन ढिलो हुन्छ । नेपालमा २ हजार वर्षदेखि लगातार एउटै पात्रो छ । सोही पात्रोकाअनुसार सामाजिक र धार्मिक संस्कार चल्दै आएको छ । हाल कार्यान्वयनमा पात्रोअनुसार नेपाल १ महिना ढिलो भइसकेको दाबी उनीहरुको छ ।

हिन्दु धर्ममा पात्रोअनुसार संस्कार चल्छ । विभिन्न ग्रहहरूलाई हेरेर पात्रो बनाइन्छ । विज्ञान र परम्परालाई समेत हेरेर दशैं एक महिना अघि सार्नुपर्ने अभियन्ताहरुको दाबी छ । ‘पञ्चाङ्ग पात्रो भनेको समय हो । घडी जस्तै पञ्चाङ्गमा समय बताउँदा हामी २६ दिनअघि भैसकेका छौं,’ पर्व सुधार अभियानका अभियन्ता किशोर रेग्मीले भने, ‘दशैं मात्रै होइन, सबै चाडपर्व १ महिनाअघि सार्नुपर्छ । सरकार र दक्षिण एसियाली ज्योतिष महासंघले पनि सुधार गर्नुपर्छ भनेर स्वीकारेको छ । नेपालको पञ्चाङ्ग समितिले चाहिँ त्यो स्वीकारेको छैन ।’

अहिले दशैं मनाउने गाउँहरुमा अर्को दशैं मनाउन छोडिसकेको उनले सुनाए । ‘यी गाउँहरुमा अर्को दशैं मानिँदैन । खसी बोका काट्ने, टीका लगाउने, माइती–मावली जाने यही दशैंमा मात्रै हो । अर्को दशैंमा त्यो हुँदैन,’ उनी भन्छन्, ‘कोभिडका कारण यो वर्ष पहिले जस्तो रौनक भएन । तर असोजमा मनाइने दशैंजस्तै यो दशैंमा पनि रमाइलो छ । अर्को दशैं वहाँहरुले वहिष्कार गरिसक्नुभएको छ ।’

उनका अनुसार २०६८ सालदेखि भदौमै दशैं मनाइँदै आइएको छ । पात्रो सुधार गर्नका लागि २०६७ सालमा मन्त्रीपरिषद्मै प्रस्ताव पनि लगिएको थियो । उनीहरुले चैत महिना हटाउन पनि सुझाएका छन् । यसबारे निर्णय भैसकेको छैन । पर्व सुधारको आन्दोलनमा रहेका यी गाउँहरुमा परम्परागत रूपमै नियमित कार्य गरेर दशैं मनाइन्छ । पर्व सुधारको अभियानमा लाग्दै आएका ईञ्जिनियर हरिनारायण मल्लको अगुवाइमा एक दशकदेखि वर्षेनी सामूहिक भेला भएर दशैंको १ महिनाअघि नै दशैं मनाउन थालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *