भगवान् बनाउने मान्छे

बनाउँदा बनाउँदै कुनै त बोल्छन् जस्तो लाग्छ

काठमाडौँ । ‘…भगवान्‌लाई हामीजस्तै मानिसले बनाउँछ छोरी, भगवान्‌ स्वर्गमा हुनुहुन्छ, हामीले देख्न नसक्ने भएकाले मूर्ति बनाएर पूजा गर्छौँ ।’ भगवान्‌लाई कसले बनाउँछ आमा ? भन्ने मेरो बाल्यकालीन जिज्ञासाको जवाफमा आमाले भन्नुभएको थियो ।

त्यस दिनदेखि नै मेरो मनमा भगवान् बनाउने मान्छे कस्ता हुन्छ्न् होला भन्ने लागिरह्यो । पछि ‘भगवान्’ बनाउने मानिसहरूबारे थाहा पाउँदै गएँ । शिल्पीहरू- जसले माटो, ढलोट वा अन्य धातु, ढुँगा, काठ आदिबाट भगवान् बनाउने कुरा बुझेपछि उनीहरुप्रतिको श्रद्धा चुलियो ।

केही दिन मात्र अघि भगवान् बनाउने ठाउँ खोज्दै गएँ । मैले भगवान् बनाउने मान्छे भेटेँ । जब उनलाई देखेँ । परैबाट धेरैबेर नियालेर हेरेँ । भगवान् बनाइरहेका मानिसलाई ‘डिस्टर्ब’ गरिहाल्न पनि मन लागेन ।

|मूर्ति बनाउँदै पुरन पण्डित । तस्बिर : सरोज बस्नेत/मकालुखबर|

000

ललितपुरको कुपण्डोल गुसिङ्गालको सानो गल्लीको भित्र टिनै टिनले बनाएको घरमा भगवान् नै भगवान् छन् । कोही जीवित ‘भगवान्’ त कुनै भगवान्‌को प्रतिमूर्ति । जहाँ पुग्नासाथै अलि बेग्लै अनुभुति हुन्छ ।

मूर्तिकार पुरन पण्डित र उनकी श्रीमती अरू बेला खासै व्यस्त हुँदैनन् । तर एक याम भने उनीहरुलाई भ्याइनभ्याइ हुन्छ ।

विश्वकर्मा पूजा, दुर्गा पूजालगायतका बेला उनीहरूको व्यस्तता धेरै हुन्छ ।

पुरनले ११ वर्षको हुँदादेखि नै मूर्ति बनाउन थालेका रहेछन् । अहिले उनी ६५ वर्षका भएछन् । माटोबाट ‘भगवान्’ बनाउँदा–बनाउँदा उमेर बितेको पत्तै नभएको उनी सुनाउँछन् । ‘बूढ्यौली लागिसक्यो नि ! तर काम गरिरहँदा यस्तो कुरातिर ध्यानै जाँदैन,’ हास्दै उनले भने ।

बा र बाजेहरुले पनि मूर्ति बनाउने काम गरे । उनले पनि घरमै यो सीप सिके । हातमा सीप भएपछि रित्तै बस्न पर्दैन र खाली पेट पनि हुँदैन । यो सीपको सायद सबैभन्दा ठूलो परिचय हो । ‘परिवारले उनलाई पढ्न विद्यालय पठायो । तर बाटोमै गुच्चा खेलेर बसेँ,’ उनले सुनाए, ‘विद्यालय खास गएनन् । उबेला पढ्ने कुरा नै खासै कहाँ थियो र ?’

|पुरनले बनाएका मूर्तिहरू । तस्बिर : सरोज बस्नेत/मकालुखबर|

उनले जीवनमा पहिलो पटक राधाकृष्णको मूर्ति बनाए । आफूले बनाएको मूर्ति देखेर आफैं दङ्ग परेको मिठो अनुभव छ उनीसँग । आखिर आफ्नो पहिलो सिर्जनाको माया अरूभन्दा बढी हुने नै भयो । त्यो मूर्तिबारे बताउँदै गर्दा पण्डित पनि मुसुमुसु हाँसिरहेका थिए ।

पहिलो मूर्ति बनाएपछि नै उनलाई ‘अब म पनि कलाकार बन्न र यही पेशा अपनाउन सक्छु’ भन्ने लागेको रहेछ । मुर्ति कसैका लागि आस्था र विश्वासको कुरा थियो, जुन पुरनका लागि कलाकार बनेको पहिलो दशी अनि जीविकोपार्जनको सायद पहिलो खुड्किलो पनि ।

त्यहीँबाट निरन्तर छ उनको ‘भगवान्’ बनाउने कर्म । जसले आज पनि उनलाई गर्व महसुस गराउँछ ।

000

सिरहाको लहानमा करिब २०० परिवारको बस्ती थियो । जहाँ १५र२० जनाजति मूर्तिकारहरू थिए ।

त्यहाँ मूर्तिको खासै खपत नहुने । ‘मूर्ति बनाउन त बनाइयो,’ उनले भने, ‘तर बेच्न र त्यसैले जीवन गुजारा गर्न कठिन हुन्थ्यो । खान लाउन हम्मे–हम्मे पर्न थालेपछि यहाँ बस्न सकिएन ।’

त्यसपछि ठूलो सहर छिरेको उनी बताउँछन् । त्यसैकारण पुरन काठमाडौँ आए ।  ललितपुरको सातदोबाटोमा मूर्ति बनाउन थाले । त्यतिबेला तीनरचारवटा मात्र कारखाना थिए । यो करिब २५ वर्षअघिको कुरा हो ।

सुरूमा उनले तीनवटा मूर्ति बनाए । त्यसपछि सातवटा अनि १२, ३८ गर्दै अहिले १०० वटासम्म मूर्ति बनाउँछन् एक वर्षमा । ‘अहिले लाउन खान ठिकै छ’, उनी सन्तुष्ट सुनिए । भगवान् बनाउन पाएकोमा थप खुशी भएको उनी सुनाउँछन् । एक सिजनमा तीन चार लाख जतिको विक्रि हुने उनले बताए । दुःख र मेहनतअनुसारको मूल्य भने नपाइने उनको गुनासो छ ।

सुरूसुरूमा काठमाडौँमा ‘पहाडिया’हरूले ‘मधेसी’ लाई हेप्ने गरेको अनुभव उनले पनि सँगाले । ‘धेरै माग भए तराईबाट मूर्ति मगाएर ल्याउँथेँ । तर लुटेर खाइदिन्थे, त्यतिबेला हामी मधेशीहरू डराएर केही बोल्न सक्दैन थियो,’ उनले दुखेसो पोखे । अहिले खासै त्यस्तो अवस्था नभएको उनी बताउँछन् ।

आठ, दश वर्ष जति भयो उनी कुपण्डोल सरेको । पण्डितका चारजना छोरा छन् । उनीहरु मूर्तिको काम भने गर्दैनन् । अरु  नै काम गर्छन । दुई छोरा विदेश गए । आए र अहिले पेन्टिङ्गको काम गरिरहेका छन् ।

छोराहरु अन्य पेशामा लागेपछि मूर्ति बनाउन भने उनले अरु मान्छे राखेका छन् । ‘छोराहरू यो काम गर्नै मन गर्दैनन्,’ उनी भन्छन्, ‘उनीहरुको खुसीको कुरा हो नि त । त्यही भएर मैले मूर्ति बनाउने अरू मान्छे राखेको छु ।’

माटोमा खेल्नुपर्ने अनि एक याममा मात्र काम हुने र अरु बेला त्यसै बस्नुपर्ने भएकाले छोराहरु यतातिर नलागेको उनको भनाइ छ । ‘आफू बाँचुन्जेल त मानिस लगाएर भएपनि यहि पेशा गर्ने अठोट छ । तर आफ्नो शेखपछि त सबै सकिन्छ,’ पुरण दुखी सुनिन्तछन् ।

कमाइ भएर होइन, रगतको नाता भएर यसलाई निरन्तरता दिएको उनी बताउँछन् । एक सिजनमा कमाउने पैसाले अरु बेलाको लागि पनि खर्च धान्नुपर्ने भएकाले यसले गुजारा मात्र धारिहेको तर पूर्ख्यौली पेशा भएकाले छोड्न नसकेको उनले बताए ।

उनले जिन्दगीका ५२ वर्ष मूर्ति बनाएरै बिताए । यति लामो समयसम्म गरेको कामले आर्थिक उपार्जनमा खास योगदान भने गरेन । तर कामबारे कुनै गुनासो रहेनछ उनलाई ।

यही पेशा गरेर परिवार पालेको अनि पूर्ख्यौली पेशालाई निरन्तरता दिन सकेकोमा सन्तुष्ट रहेको उनले बताए ।

काम लगावका साथ गर्नुपर्ने अनि मात्र मज्जा आउने उनको ठम्याइ छ । मूर्ति बनाइरहँदा उनी यति तन्मयका साथ गर्छन् कि उनी नै मूर्तिमा हराउँछन् । ‘मूर्ति बनाइरहदाँ कहिलेकाहीँ त अब भगवान् बोल्छ्न कि जस्तो लाग्छ’, पण्डितले कामप्रतिको लगाब सुनाए ।

मानिसहरुले इज्जतका साथ लैजाने, पूजा गर्ने र खुसी बनाउने मूर्ति बनाउन पाएकोमा सबैभन्दा धेरै खुसी लाग्ने उनको भनाइ छ । अरु पेशा गरेर पैसा कमाइन्थ्यो होला । तर यति आनन्द पक्कै आउने थिएन,’ उनी दङ्ग सुनिए ।

मूर्ति बनाउँदा स्वरूप बिग्रेको अवस्थामा सपनामा ‘भगवान्’ देखिने र यसरी बनाउनु भनेर मार्गदर्शन गर्ने गरेको दाबी पनि उनले गरे ।

उनीसँगको कुराकानी सकेर फर्किँदै गर्दा मभित्र पनि गजबको खुसी छायो । आफ्नो काममा पुरनको जस्तै समर्पण र सन्तुष्टि हुन सके जीवन साँच्चै सुन्दर र खुसी हुन्थ्यो होला भन्ने निष्कर्ष निकालेँ ।

तर, मनमनै एउटा प्रश्न भने खट्किरह्यो— माटो ढुंगा वा धातुबाट ‘भगवान्’ बनाउने मान्छेहरु भने विभेदमा छन् । मूर्तिलाई पूजा गर्ने हामी तिनै मूर्ति बनाउने मान्छेलाई भने किन हेलाहोचो गर्छौँ होला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

kite