सञ्चय कोष ६० वर्षमा, साढे ४ खर्ब रुपैयाँको कोष व्यवस्थापन

काठमाडौँ । कर्मचारी सञ्चयक कोष स्थापनाको ६० वर्षमा प्रवेश गरेको छ । कोषले बिहीबार स्थापनाको ६० औँ वार्षिकोत्सव कार्यक्रम केन्द्रीय कार्यालय पुल्चोकमा भौतिक तथा भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरी मनाएको छ ।

वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले वित्तीय स्रोतमा भएको वृद्धि, कारोवारको प्रकृतिमा भएको विविधता, प्रविधिप्रतिको बढ्दो निर्भरतासँगै वित्तीय प्रणालीमा जोखिम बढिरहेकोले कर्मचारी सञ्चय कोष समेत सो जोखिमबाट प्रभावित हुने हुँदा यसतर्फ कोष सचेत रहनुपर्ने बताए ।

वित्तीय स्रोतको व्यवस्थापन र सञ्चयकर्ताको सेवाको दृष्टिकोणबाट कोषका गतिविधि सन्तोषजनक रुपमा अघि बढिरहेको र संस्थागत सुशासन तथा जोखिम ब्यवस्थापन क्षेत्रमा कोषले थप सुधार गर्नुपर्ने बताए । कार्यक्रममा कोष गतिविधिको नियमनका लागि अलग्गै र प्रभावकारी नियमनकारी निकायको व्यवस्था भईनसकेकोले कोष सञ्चालक समिति र व्यवसथपनले स्व–नियमनकारी भूमिकासमेत निर्वाह गर्दै योगदानमा आधारित निवृत्तभरण कोष समेतको समग्र व्यवस्थापनमा विशिष्टिकरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल सरकारका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोष सञ्चालक समितिका अध्यक्ष कृष्णहरि पुष्करले सञ्चय कोष योगदानका अतिरिक्त विगत २ वर्षदेखि सञ्चालनमा रहेको योगदानमा आधारित निवृत्तभरण कोषमा संकलित करिब ४ खर्ब ४४ अर्ब बराबरको स्रोतको कुशल व्यवस्थापन गर्न सफल भई विश्वसनीय संस्थाको रुपमा सबैको विश्वास जितेको बताए ।

सञ्चयकर्ताको सन्तुष्टि र समृद्धि नै कोषको पहिलो लक्ष्य रहेको र कोषको समग्र गतिविधि एवम् नीति तथा कार्यक्रम यसै लक्ष्यबाट निर्देशित हुनुपर्ने र कोषमा रहेको वित्तीय स्रोतको समुचित परिचालन गरी प्राप्त प्रतिफलको समन्यायिक वितरण गर्नुपर्ने कुरा बताए । कार्यक्रममा उनले कर्मचारी सञ्चय कोष ऐन र निबृत्तभरण कोष ऐनलाई एकिकृत गरी एउट्टै ऐनको आवश्यकता देखिएको बताए ।

कार्यक्रममा बोल्दै कोषका निमित्त प्रशासक जितेन्द्र धितालले सञ्चयकर्ताको योगदान रकमको कुशल ब्यवस्थापन तथा परिचालनबाट प्राप्त प्रतिफलको न्यायोचित वितरण गर्ने एवम् सेवा प्रवाहमा गुणामत्मक सुधार गर्दै सञ्चयकर्ताको हित र सन्तुष्टिप्रति कोष क्रियाशील रहने बताए । कोषको वर्तममान अवस्था, आर्थिक वर्ष २०७७/७८ मा भएको प्रमुख उपलब्धीको समिक्षा र कोषको भावी योजना र प्रतिबद्धता सम्बन्धी विवरण प्रस्तुत गरे ।

कार्यक्रममा नेपाल सरकारका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोष सञ्चालक समितिका अध्यक्ष कृष्णहरि पुष्करले कोभिड–१९ संक्रमण जोखिमका कारण भौतिक रुपमा उपस्थित हुन नसकेका कोषमा २५ वर्ष सेवा अवधि पूरा गरेका २२ जना कर्मचारीलाई प्रदान गर्ने दिर्घसेवा पदक र प्रमाणपत्रहरु एवम् २०७७ सालको एसईई परीक्षामा उत्तीर्ण हुने कोषमा कार्यरत कर्मचारीका ८ जना छोरा÷छोरीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्न कोषका निमित्त प्रशासक जितेन्द्र धिताललाई एकमुष्ठ रुपमा हस्तान्तरण गरे ।

कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार वि.सं. २०१९ भदौ ३१ गते स्थापना भएको कर्मचारी सञ्चय कोषमा हाल ५ लाख ९८ हजार सञ्चयकर्ताहरुको सञ्चय कोष ३९८ अर्व ६ करोड र योगदानमा आधारीत निबृत्तभरण कोष १ अर्ब ५८ करोड गरी जम्मा ४ खर्ब ४४ अर्ब रु पैयाँभन्दा बढीकोे वित्तीय स्रोत रहेको छ ।

उक्त रकमबाट कोषले सञ्चयकर्ताको सेवाकालिन आवश्यकता पूर्ति गर्नको लागि विशेष सापटी, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी र सञ्चयकर्ता सरल चक्र कर्जा जस्ता सापटी सुविधाहरु प्रदान गरिरहेको छ । मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसुती स्याहार, क्रिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्चयकर्ता स्वास्थ्योपचार योजना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसै सन्दर्भमा कोषले सञ्चयकर्ताको लागि आजैदेखि सञ्चयकर्ता घरजग्गा खरिद कर्जाको शुरुवात समेत गरेको छ ।

कोषले देशको पूर्वाधार विकासका लागि विभिन्न जलविद्युत कम्पनी माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्वारा प्रबर्धित विभिन्न जलविद्युतलगयातका आयोजनामा ऋण लगानी गरेको छ ।

नेपाल वायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ । कोषले अधिकांश शेयर स्वामित्व सञ्चयकर्ताहरुको रहने गरी बेतन कर्णाली जलविद्युत आयोजना निर्माण प्रक्रिया सुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *