गण्डकीमा अनौठो दृष्य, सबै पार्टीको सहमतिमा सभापति चयन

पोखरा । करिब ३ महिना रिक्त रहेको गण्डकी प्रदेशसभाको सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका सांसद रोशन गाहा थापा निर्वाचित भएका छन् । बुधबार उनले मात्रै मनोनयन दर्ता गराएपछि सर्वसम्मत रुपमा उनी निर्वाचित भएका हुन् ।

यस्तै, सत्तापक्षको भागमा रहेको विधायन समिति सभापतिमा कांग्रेस सांसद विष्णुप्रसाद लामिछाने निर्वाचित भए । विधायन समितिमा पनि लामिछानेको मात्रै मनोनयन थियो । दुवै सभापतिको बिहीबार शपथ भएको छ । दुवैजना नवलपुरबाट निर्वाचित सांसद हुन् ।

सभापति चयनमा गण्डकीले अनौठो उदाहरण पेश गर्‍यो । थापालाई सभापतिको प्रस्तावकमा कांग्रेस प्रमुख सचेतक ओमकला चालिसे थिइन् भने समर्थकमा माओवादीकी प्रमुख सचेतक गायत्री गुरुङ थिइन् । उता लामिछानेको प्रस्तावकमा एमाले सांसद राजीव पहारी थिए भने समर्थकमा जनमोर्चाकी संसदीय दलकी नेता पियारी थापा थिइन् ।

यसअघि लेखा समितिमा कांग्रेसका कुमार खड्का र विधायन समितिमा एमालेका मोहन रेग्मी सभापति थिए । सत्ता समीकरण बदलिएपछि सभापतिहरु फेरिएका हुन् । विधायन समिति सत्तापक्ष र लेखा समिति प्रतिपक्षलाई दिने संसदीय प्रचलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *