बिलेटमा कर वृद्धि : ‘१२ हजार रोजगारी र १ खर्ब लगानी गुम्ने’

काठमाडौँ । सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत बिलेट आयातमा बढाएको भन्सार र अन्तःशुल्क कार्यान्वयनमा आए देशका २४ उद्योगमा भएको १ खर्ब लगानी धराशयी हुने नेपाल स्टील रोलिङ्ग मिल्स एसोसिएसनले जनाएको छ । यी उद्योगले सिर्जना गरेको झण्डै १२ हजार प्रत्यक्ष रोजगारीसमेत गुम्ने खतरा रहेको उनीहरूको दाबी छ ।

यो व्यवस्था कार्यान्वयन भए हाल देशका ती उद्योगले खपत गर्दै आएको १ सय ५० मेगावाट विद्युत्को बजार बन्द हुने‚ र यी उद्योगबाट सरकाले वार्षिक रुपमा प्राप्त गर्दै आएको झण्डै ७० अर्ब राजस्वसमेत गुम्ने एसोसिएसनको भनाइ छ ।

समग्र रुपमा घाटा हुने देखिएकाले उक्त व्यवस्था तत्काल लागू नगरी बिलेट आयत गरेर डन्डी उत्पादन गर्दै आएका उद्योगलाई स्पन्ज आयात गरी डन्डी उत्पादन गर्न सक्ने गरी प्लान्ट स्थापनाका लागि समय सीमा छुट्याउनुपर्ने  उद्योगीहरूको माग छ ।

सरकाले हालै ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकले पत्रु पगालेर फलामे छड उत्पादन गर्ने र सोमा मिसाउन चाहिने कच्चा पदार्थ (स्पञ्ज आइरन) आयात गर्दा भन्सार र अन्तःशुल्क नलाग्ने तर, सोझै बिलेट आयात गर्दा ४.७५ प्रतिशत भन्सार र २ हजार ५ सय रुपैयाँ प्रतिमेट्रिकटन अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ । जबकी बिलेट आयात गर्दाको साविक महसुल भने १ हजार ६ सय ५० रुपैयाँ प्रतिमेट्रिकटन रहेको छ ।

उक्त व्यवस्था कार्यान्वयन गर्दा २४ वटा फलामे छड उत्पादन गर्ने उद्योगलाई ठूलो मर्का पर्न गई बन्द हुने स्थिति सिर्जना हुने उनीहरूको भनाइ छ । यस्तो व्यवस्थाले नेपालमै बिलेट उत्पादन गर्ने ६ वटा उद्योगलाई मात्र फाइदा हुने, ६ बाहेकका २४ उद्योगले उत्पादन गर्ने डन्डी प्रतिकेजी ८ देखि १० रुपैयाँसम्म महँगो पर्ने, प्रतिस्पर्धा गर्न नसक्दा २४ वटा उद्योग बन्द भए हुने, टीएमटी छडको अभाव हुने, छडको कालाबजारीले समेत प्रश्रय पाउने र ठूला आयोजनालाई चाहिने गुणस्तरीय फलामे छडको अभाव हुनेजस्ता समस्या आउने उनीहरूको भनाइ छ ।

गुणस्तर कमजोर हुने दाबी

नेपाल भूकम्पीय जोखिममा रहेको देश भएकाले पनि बलियो र गुणस्तरीय निर्माणका लागि न्यूनतम ५०० डी ग्रेडको विकल्प छैन । हाल उपभोक्ताले अध्याधिक रुचाएको विश्व प्रसिद्ध ५०० डी ग्रेडको फलामे छडको माग भएको र ठूला आयोजना र राष्ट्रिय गौरवका आयोजनाहरूमा अन्तरराष्ट्रिय मापदण्ड अनुसारको ५०० डी ग्रेड नै आवश्यक हुन्छ । तर, स्पन्ज आइरनबाट फलामे छड उत्पादन गर्दा ५०० डी ग्रेड बराबरको गुणस्तर हुन नसक्ने तथा उक्त गुणस्तरका लागि आयात गरिएको प्राइम बिलेट नै आवश्यक हुने पनि उनीहरूको भनाइ छ ।

पत्रु पगालेर डण्डी उत्पादन गर्दा पर्यावरणमा असर पर्ने, चीनलगायत विकसित तथा विकाशील देशमा यस्तो प्रविधिलाई बन्द नै गरिएको पनि उनीहरुको दाबी छ ।

स्पन्ज आइरनको आयात बढाएर डन्डी बनाउँदा रोजगारी बढ्ने भए पनि ९० देखि ९५ प्रतिशतसम्म रोजगारीका लागि विदेशी नागरिक आवश्यक हुने उनीहरूको भनाइ छ । उक्त प्रविधिबाट डन्डी बनाउँदा धेरै मात्रामा जोखिम हुने हुँदा कामदारहरू दुर्घटनामा पर्ने, जनधनको क्षती हुने हुँदा कामदारको हितविपरीत रहेको समेत उनीहरूको दाबी छ ।

त्यस्तै, नयाँ आउन लागेको नवलपरासीस्थित धौवादी स्टीललगायत उद्योगका उत्पादनको बजारीकरणमा पनि समस्या आउने पनि उनीहरुको तर्क छ ।

साधारणतया आईरन ओरबाट स्पन्ज आइरनको प्रोसेस गरी बिलेटबाट डण्डी बन्छ । हालसम्म बिलेटलाई कच्चा पदार्थ मानिएको छ‚ र सोहीअनुसार अन्तःशुल्क र भन्सार दर लाग्दै आएको हुँदा स्पन्ज आइरन र बिलेटलाई कच्चा पदार्थकै रुपमा मानिएकोले यसैलाई निरन्तरता दिनुपर्ने उनीहरूको माग छ ।

हाल नेपालमा रहेका २४ वटा फलामे उद्योग बन्द भएमा १५० मेगावाट विद्युत् खपत कम हुने‚ तर नयाँ थपिने ८ लाख मेट्रिक टनबाट सय मेगावाटमात्र विद्युत् खपत वृद्धि हुने उद्योगीहरूको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *