पुनर्निर्माणका बाँकी कार्यहरू हस्तान्तरण सुरू

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका निजी आवासलगायतका संचनाहरुको पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरु सम्बन्धित निकायमा हस्तान्तरण सुरु भएको छ ।

बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित एक औपचारिक कार्यक्रममा पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बाहरु तथा सडक एवं पुलहरुको कार्य हस्तान्तरण गरिएको हो ।

निजी आवास तथा बस्ती विकासतर्फका बाँकी कार्यहरु शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ ।

यसका साथै, सरकारी एवं सार्वजनिक भवन एवं स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन०मार्फत् सञ्चालित सम्पदा एवं गुम्बाहरुको पुनर्निर्माण सम्बन्धी कार्यहरु पनि उक्त विभागलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण,केन्द्रिय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले उक्त बाँकी कार्यहरु शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेललाई गरेको हो ।

साथै केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)ले गर्दै आएको निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनसहितका पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरु पनि शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण,केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का आयोजना उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले उक्त कार्यहरु शहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गरेका हुन् ।

पुनर्निर्माण गर्न बाँकी रहेका शैक्षिक संस्थाहरुको पुनर्निर्माण सम्बन्धी कार्यहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सो अन्तर्गतका तोकिएका जिल्ला स्थित कार्यालयहरुमा हस्तान्तरण गरिएको छ ।

यी बाँकी रहेका कार्यहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई हस्तान्तरण गरेको छ ।

त्यसैगरी, सडक तथा पुलहरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागलाई हस्तान्तरण भएको छ । अब यो विभागले गुम्बा व्यवस्थापन समितिको समन्वयमा एक सय वर्ष नपुगेका पुनर्निर्माण गर्न बाँकी गुम्वाको पुनर्निर्माण सम्बन्धी कार्यहरू पनि गर्नेछ ।

उल्लेखित बाँकी कार्यहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रिय आयोजना कार्यान्वयन इकाईका आयोजना उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्टालाई हस्तान्तरण गरेका छन् ।

पुनर्निर्माण गर्न बाँकी रहेका कार्यसहित सम्बन्धित केन्द्रीय एवं जिल्ला आयोजना कार्यान्वयन इकाई अन्तर्गत रहेका सम्पत्ति, दायित्व, श्रेस्ता कागजात, बेरुजू विवरण एवं कार्यालयसमेत सम्बन्धित निकायमा हस्तान्तरण भएका छन् ।

हस्तान्तरणपछि जिम्मेवारी लिएका निकायहरुले तत्कालै पुनर्निर्माणका कार्यहरु सञ्चालन गर्नेछन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण प्राधिकरणका ५ वर्ष ८ महिना २० दिनमा पुननर्निर्माण गर्नुपर्ने कूल संरचनाहरुमध्ये मूलभूत रुपमा प्रायःसम्पूर्ण कार्यहरु सम्पन्न भएका वा सम्पन्न हुने चरणमा रहेको बताए ।

ज्ञवालीले नेपालको अनुभव अन्तर्राष्ट्रिय समुदायलाई बाँड्न आगामी मंसिर २१ देखि २३ सम्म अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको र त्यस अवसरमा ‘विपद्–जोखिमबाट सुरक्षित नेपाल निर्माण सम्बन्धी मार्गचित्र सहितको खाका’ प्रस्तुत गरिने पनि जानकारी दिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले हस्तान्तरण भएर आएका कार्यहरु तोकिएको समयभित्रै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *