शिक्षक सरुवामा वडाध्यक्षको असन्तुष्टि, शिक्षा शाखामा तालाबन्दी

पोखरा । गोरखा स्थित पालुङटार नगरपालिकाको अमरज्योति माविमा ३ वटा प्रावि मर्ज भयो । विद्यार्थी सङ्ख्या कम भएपछि स्कुल मर्ज गर्ने सरकारी नीति अनुसार अमरज्योतिमा विद्यालय गाभिएको हो ।

त्यहाँका ९ जना शिक्षक पनि अमरज्योतिमै हाजिर गर्न थाले । भवानी माविमा ४ वटा प्रावि मर्ज भयो । सबै स्कुलका १२ शिक्षक र बाँकी रहेका विद्यार्थी भवानीमै हाजिर हुन थाले । भइरहेका शिक्षकमाथि थप शिक्षक दुई वटा स्कुलले राखिदिएपछि अरू स्कुलमा शिक्षक पुगेन ।

जीवनज्योति माविमा एक जनाको मृत्यु भयो, एक जनाको सरुवा भयो र अर्को एक जना रिक्त थियो । त्यहाँ तीन दरबन्दी खाली भयो । त्रिवेणी माविमा २ र बालकल्याणमा २ वटा दरबन्दी खाली रह्यो । अरू विद्यालयमा पनि सोही अनुपातमा शिक्षक दरबन्दी कम भएको पालिकाले जनाएको छ । एकातिर शिक्षक जम्मा भएर बस्ने र अर्कोतिर नपुग्ने अवस्थालाई व्यवस्थापन गर्न पालिकाले एक कार्यदल बनायो ।

कार्यदलले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलाईदियो । तर दरबन्दी मिलानमा असन्तुष्टि जनाउँदै वडा नम्बर ५ का वडाध्यक्ष दीपक पाण्डेले शिक्षा शाखामा तालाबन्दी गरिदिएका छन् । सरकारले दरबन्दी मिलान प्रक्रिया २०७६ मङ्सिर १६ मा सूचना गरेको हो । सो मिलानका क्रममा पालुङटारमा प्रावि तर्फ ३० दरबन्दी काटियो । यही भदौ २० गतेदेखि अवकाश, मृत्यु, राजीनामा र खाली गरी ३० दरबन्दी घटाएर मिलान भएको विवरण नगरपालिकाले शिक्षा विकास तथा समन्वय इकाईमा पठायो ।

अहिले दरबन्दी मिलानपछि शिक्षक सङ्ख्या कम भएको वडाध्यक्ष पाण्डेको गुनासो छ । ‘अहिले उहाँहरूले धेरै दरबन्दी काटिएको भन्नुभयो । उहाँहरूको स्कुलमा विद्यार्थी सङ्ख्या पनि घट्दो क्रममा छ । विद्यार्थी कम भएका स्कुलमा शिक्षक धेरै राख्नु त अन्याय भयो नि,’ शिक्षा शाखा प्रमुख बाबुराम काराखेतीले भने, ‘पालिकाले एउटा कार्यदल बनाएर त्यसकै सिफारिसका आधारमा मिलान गरेको हो । तर अध्यक्ष ज्यूले तालाबन्दी गर्नुभएको छ ।’ काराखेतीकै संयोजकत्वमा विज्ञ सहितको कार्यदल गठन भएको हो ।

पाण्डे आफै नगर शिक्षा समितिको आमन्त्रित सदस्य छन् । तर उनी बैठकमा धेरै उपस्थित नहुने र निर्णय भएपछि विरोध गर्ने गरेको काराखेतीको आरोप छ । ‘उहाँ आफै कार्यपालिकाको सदस्य, नगर शिक्षा समितिको आमन्त्रित सदस्य पनि हो । त्यो बैठकमा उहाँ आफै हुनुहुन्छ । बैठकमा पूरा समय बस्नुभएन । अहिले तथानाम गाली गर्दै तालाबन्दी गर्नुभयो,’ उनले भने, ‘अहिले टाढा टाढाका उपभोक्ता आउनुहुन्छ । सेवा नपाई फर्किनुभएको छ ।’

पालिका प्रमुख दीपकबाबु कँडेलले कार्यदलको सिफारिस नियमानुसार भएको भन्दै सोही अनुसार कार्यान्वयन गर्ने बताए । ‘उहाँहरूले नियम, ऐन हेरेर मिलान गर्नुभएको हो । कि ऐन अनुसार गलत देखाउनुपर्‍याे । नत्र त कार्यदलको सिफारिस ठिक छ,’ उनले भने, ‘तालाबन्दी गरेर समस्याको समाधान हुँदैन । छलफल र वार्ताबाट समाधान गर्नुपर्छ ।’ अहिले पालिकाभरि ३ सय १७ दरबन्दी कायम भएको छ ।

वडाध्यक्ष पाण्डेले भने राजनीतिक आस्थाका आधारमा कार्यविधि विपरीत सरुवा गरिएको आरोप लगाए । ‘म राजनीतिक कुरा गर्दिनँ । कार्यविधिमा कनिष्ठबाट सरुवा गर्ने सहमति बनेको थियो । तर उहाँहरूले कतै वरिष्ठलाई सार्नुभयो । कतै कनिष्ठ र वरिष्ठ दुवै छोडेर बिचबाट सरुवा गरिदिनुभयो,’ उनले भने, ‘यो सरासर गलत छ । मलाई मन परेन । नियमानुसार नहुँदासम्म तालाबन्दी रहन्छ ।’ कार्यदलका सदस्यहरूले भने नियम विपरीत काम नगरेको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *